चुलाचुली (इलाम), १६ जेठ–नेपाल पत्रकार महासंघ झापा शाखाले आज दमकमा पत्रकार संघ-संगठनहरूबीचको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
दमक–८ कस्मिक पार्टी प्यालेसमा शनिबार आयोजित पत्रकार संघ-संगठनवीचको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम भएको छ ।
प्रतियोगितामा जिल्लाका ११ वटा पत्रकार संगठनको सहभागिता रहेको थियो । प्रतियोगितामा अर्जुनधारा प्रेस क्लब द्वितीय तथा प्रेस युनियन तृतीय भएका छन् ।
त्यसैगरी, प्रेस चौतारी, नारी सञ्चार गृह, सञ्चारिका समूह, फोनिज झापा तथा पर्यटन पत्रकार मञ्चले सान्त्वना स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने टोलीलाई क्रमशः नगद रु ११ हजार १ सय ११, रु। ७ हजार ७ सय ७७, रु ५ हजार ५ सय ५५ तथा रु २ हजार २ सय २२ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापा रहेका थिए ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, अग्रज पत्रकार गञ्जबहादुर दाहाल लगायतको उपस्थिति रहेको थियो ।
