काठमाडौं, १९ जेठ–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ (साम्पाङ) ले देशको सार्वभौमसत्ता र अखण्डताको विषयमा सत्ता र प्रतिपक्ष नहुने बताएका छन्।
आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष साम्पाङले देश पार्टी, जाति, धर्म र वर्गभन्दा माथि रहने भन्दै राष्ट्रियताका सवालमा सबै सांसदहरू एक जुट हुनुपर्नेमा जोड दिएका छन्।
‘सत्तापक्ष र विपक्ष भन्ने कुरा छैन। देशको सीमाना, अखण्डता, सार्वभौमसत्ता जोगाउने कुरा हो’ साम्पाङले भने, ‘हामी सबै सांसदको एउटै माग हुन जरूरी छ। प्रधानमन्त्री जस्तो व्यक्तिले दिएको जेठ १७ गतेको अभिव्यक्ति सच्याउनुपर्छ। उहाँ यहाँ उपस्थित हुनुपर्छ।’
यसै क्रममा, अध्यक्ष साम्पाङले गत जेठ १७ गते संसद् बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। पार्टी संसदीय दलका नेतासमेत रहेका राईले प्रधानमन्त्रीजस्तो राज्यको प्रमुख व्यक्तिबाट आएको उक्त विवादास्पद अभिव्यक्ति अविलम्ब सच्याउनुपर्ने माग गरेका छन्।
साम्पाङले प्रधानमन्त्रीले बिना पुष्टि बोलेको भए ३ करोड नेपालीसँग माफी मागर्नुपर्ने बताए। ‘नेपालले भारतको सीमा कहाँ कहाँ मिचेको छ, उहाँले पुष्टि गर्नुपर्छु, साम्पाङले भने, ‘सरकारलाई गल्ती गर्ने छुट हुँदैन। सरकारले गल्ती गर्न पाउँदै पाउँदैन। हुँदै हुँदैन। यदि उहाँले आवेगमा आएर अथवा बिना पुष्टिको कुरा राखेको भए हामीलाई होइन, हर्क साम्पाङ सहित सांसदलाई होइन, तीन करोड नेपालीलाई सम्बोधन गरेर माफी माग्नुपर्छ। यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ।’
प्रधानमन्त्री शाह प्रतिनिधि सभा बैठकमा कमै मात्र सहभागी हुने गरेका छन्। राईले प्रतिनिधि सभा नियमावलीको नियम ४ को १ मा प्रत्येक सदस्यले बैठकमा सहभागी हुनु अघि हाजिरी गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरे।
‘प्रधानमन्त्री आउँदा हाजिर गर्नुभएको छ कि छैन। हेर्न अभिलेख शाखालाई आग्रह गर्दछु। यदि उहाँले हाजिर गर्नुभएको छैन भने प्रतिनिधि सभा सदस्य नरहेको ठहर हुन्छु, राईले भने, ‘संविधानको धारा ७७ को १ को मा प्रतिनिधि सभा सदस्य नरहेको हकमा प्रधानमन्त्री पदबाट मुक्त हुनुपर्छ भनेको छ। हाजिर अभिलेखमा छ कि छैन।’

