काठमाडौँ, १९ जेठ–वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको आठ दिनपछि उनलाई आज बिहान पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिपराज पाठकका अनुसार ठोरीमा लुकीछिपी बसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा चलाइएको प्रहरी अप्रेशनका क्रममा मेयर सिंह पक्राउ परेका हुन्। यसअघि अदालतले पक्राउको अनुमति दिएपछि एक दिन अदालतमा उपस्थित भएर उनी फरार भएका थिए।
मेयर सिंहमाथि अर्काकी छोरीलाई आफ्नै छोरी दाबी गरेर झुठो जन्मदर्ता बनाएको र सोही आधारमा नागरिकता तथा राहदानी (पासपोर्ट)समेत जारी गराएर विदेश पठाएको गम्भीर आरोप छ।
जिल्ला प्रहरी कार्यालय पर्साको विस्तृत अनुसन्धानपछि सिंहसहित चार जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो। अदालतले उनीहरूविरुद्ध सात दिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो।
मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागज सम्बन्धी दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखत कसुर गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ। पक्राउ परेका मेयर सिंहलाई पनि सोही कानुनी प्रावधान अनुसार हदैसम्मको सजाय माग गर्दै मुद्दा अघि बढाइएको छ।

