जनकपुरधाम, २० जेठ–महोत्तरीमा डाँका चोरीमा संलग्न समूहको गोली प्रहारबाट एकै परिवारका दुईजना गम्भीर घाइते भएका छन्।
महोत्तरीको सोनमा गाउँपालिका–३ खखनास्थित रामविश्वास यादवको घरमा मङ्गलबार राति डाँकाचोरी भएको हो। सोही क्रममा प्रतिकार गर्न खोज्दा डाँका समूहले चलाएको गोली लागेर रामविश्वासका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० पञ्चलाल गोलेका अनुसार घाइते दुवैजनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ।
घटनाबारे प्रहरीले बुधबार बिहानपख मात्र जानकारी पाएको थियो। घटनामा संलग्नहरूको खोजी भइरहेको र डाँका समूहले के(कति धनमाल लुटेर लग्यो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको छ।
