दमक, २० जेठ–विश्व साइकल दिवसको अवसरमा आज विहान दमकमा रोटरी क्लब अफ दमकले साइकल र्याली कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाको कार्यालय प्रवेश गर्ने गेटबाट सुरु गरिएको साइकल र्याली फाल्गुनन्द चोक–भाङबारी, बेलडाँगी, बाघखोर, भ्यूटावरबाट भाइरल सडकबाट पुर्नः फाल्गुनन्द चोकमा आएर सम्पन्न गरिएको थियो ।
साइकल र्यालीको उद्घाटन दमक–७ का वडाध्यक्ष भीमबहादुर पौडेलले गर्नुभएको थियो । रोटरी क्लब अफ दमकका अध्यक्ष केशव अग्रवालको अध्यक्षतामा र वडाध्यक्ष पौडेलको प्रमुख आतिथ्यतामा विश्व साइकल दिवस मनाइएको थियो । त्यसक्रममा वडाध्यक्ष पौडेलले विश्व साइकल दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो कार्यक्रममा साइकल र्याली कार्यक्रमका संंयोजक भेनष श्रेष्ठले कार्यक्रमको औचित्य र उदेश्यमाथि प्रकाश पार्नुभएको थियो । साइकल यात्रा कार्यक्रममा पूर्व अध्यक्ष सन्दिप चापागाई, बिक्रम शाह, पदम बराल, रोटरी क्लब अफ दमकका उपाध्यक्ष सागर श्रेष्ठ, उद्योग बाणिज्य संंघका तृतीय उपाध्यक्ष सुवास गौड्तौला लगायतका व्याक्तित्वहरुको उपस्थिति थियो ।
हरेक वर्ष जुन ३ मा विश्वभर विश्व साइकल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले सन् २०१८ देखि साइकल दिवस मनाउँदै आइरहेको छ । सामान्य देखिने दुई पाङ्ग्रे साधन साइकल वास्तवमा मानव सभ्यताले विकास गरेको सबैभन्दा उपयोगी, सस्तो, वातावरणमैत्री र जनस्वास्थ्यमैत्री आविष्कारमध्ये एक हो ।
पेट्रोल, डिजेल वा विद्युतको आवश्यकता नपर्ने यो साधनको इन्धन मानिसको आफ्नै ऊर्जा हो । यही कारणले साइकल केवल यातायातको माध्यम मात्र होइन, स्वस्थ जीवनशैली, स्वच्छ वातावरण र दिगो विकासको प्रतीक पनि हो । आज विश्व जलवायु परिवर्तन, वायु प्रदूषण, ट्राफिक जाम र जीवनशैलीजन्य रोगहरूको चुनौतीसँग जुधिरहेको छ ।
साइकलको सबैभन्दा ठूलो योगदान मानव स्वास्थ्यमा देखिन्छ । नियमित साइकल चलाउँदा मुटु स्वस्थ रहन्छ, रक्तसञ्चार प्रणाली बलियो बन्छ, मधुमेह, उच्च रक्तचाप तथा मोटोपनाजस्ता समस्याको जोखिम कम हुन्छ।
