काठमाडौं, १२ असार–अवैध रूपमा शैक्षिक परामर्श संस्था (कन्सलटेन्सी) सञ्चालन गरेको आरोपमा प्रहरीले १८ जना सञ्चालकलाई पक्राउ गरेको छ। शिक्षा मन्त्रालयको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो तीन दिनमा उनीहरूलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा काठमाडौंका १६ जना तथा ललितपुर र भक्तपुरका २-२ जना रहेका छन्। ‘मन्त्रिपरिषद्को निर्णयका आधारमा उनीहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको हो,ु एसपी कार्कीले भने। कारबाहीका क्रममा केही सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट गुरुबा इन्टरनेसनल, लेक्सिकर्न एजुकेशन नेटवर्क, पास्कल एजुकेशन, मेगाटेक भ्याली एजुकेशन, भिक्ट्री एजुकेशन, २४ आवर एजुकेशन, युनिभर्सिटी गेटवे, एपिटोमी एजुकेशन, स्किल प्वाइन्ट एजुकेशन, ड्रिम एजुकेशन र भाइब्रेन्ट एजुकेसन सर्भिसका सञ्चालकहरूलाई पक्राउ गरेको छ। त्यस्तै, ललितपुरबाट उरेसी एजुकेशन र ब्लुम एब्रोड तथा भक्तपुरबाट ग्रिनर एजुकेसन र ग्लोबल इम्प्याक्ट एजुकेशनका सञ्चालकहरू पनि प्रहरीको नियन्त्रणमा छन्।

पक्राउ परेकाहरूलाई शिक्षा ऐनअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ। यसअघि पनि एक महिनाअघि प्रहरीले दर्ताविहीन ६८ वटा कन्सलटेन्सीका सञ्चालकलाई पक्राउ गरेको थियो, जसमध्ये २७ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *