झापा, २९ असार–झापा जिल्ला खेलकुद विकास समितिले १६औँ राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा पदक विजेता झापाली खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । समितिले पदक ल्याउने खेलाडीका प्रशिक्षकहरुलाई पनि सम्मान गरेको छ ।

आज भद्रपुरस्थित जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजित समारोहमा पदकधारी खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो । सोही समारोहमा झापा जिल्ला खेलकुद विकास समितिको निवर्तमान कार्यसमितिलाई पनि सम्मानसहित विदाइ गरिएको छ ।

समितिका अध्यक्ष शेखर कडेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा समारोह सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय १६औँ राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा झापाको प्रतिनिधित्व गर्दै करातेतर्फ स्वर्ण पदक विजेता प्रतिशा नेपाललाई १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

यस्तै, एथलेटिक्स विधामा रजत पदक जित्न सफल टंक यादवलाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरियो । सोही विधामा १५औँ राष्ट्रपति रनिङशील्डमा रजत पदकनै जित्ने सुजन मण्डललाई पनि नगद १० हजारसहित सम्मान गरिएको थियो ।

त्यसैगरी, तेक्वान्दोमा कास्य पदक विजेता रेशिका धिमाल र आयुषा बोहोरा एवम् उसुतर्फ कास्य पदक विजेता रासिम राई र आशिका तिरुवालाई नगद ७ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

१५औँ राष्ट्रपति रनिङशील्डमा कराते विधामा कास्य पदक जितेका आर्यन दाहाललाई पनि नगद ७ हजारसहित सम्मान गरियो ।
यसैगरी, चौथो राष्ट्रिय लेजर–रन प्रतियोगितामा–२०२६ मा सिनियरतर्फ प्रथम हुने दमकका सरोज सिंह र जुनियरतर्फ प्रथम हुने दमककै सनम आङ्देम्बेलाई पनि सम्मान गरिएको थियो ।

समारोहमा झापाका खेलाडीलाई पदक दिलाउन प्रशिक्षकको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका करातेतर्फका प्रशिक्षक डम्बर सुनुवार, एथलेटिक्सतर्फका रामकुमार राजवंशी, तेक्वान्दोतर्फका चन्द्र गौतम र प्रतिमा तामाङ तथा उसुका पूजा खवासलाई सम्मान गरिएको थियो ।

सम्मानित खेलाडी तथा प्रशिक्षकहरुलाई प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, विशिष्ट अतिथि जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्का, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य बालाजीत राई, कोशी प्रदेशसभाका पूर्व सदस्य वसन्तकुमार वानियाँ, भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, झापा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’लगायतले दोसल्ला ओढाएर, नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

सोही समारोहमा झापा जिल्ला खेलकुद विकास समितिको निवर्तमान कार्यसमितिलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित विदाइ गरिएको थियो । अध्यक्ष कँडेलले निवर्तमान अध्यक्ष भेषराज भण्डारी, उपाध्यक्ष गंगा भुर्तेल कोइराला, सदस्यहरु जगन कार्की ‘दुर्वासा, शम्शेर मोक्तान, गंगा तुम्बापो, चेतामणि खनाल, पूर्णिमा सिटौलालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए भने प्रमुख अतिथि पोखरेलले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

उपाध्यक्ष लक्ष्मी देवानले स्वागत र कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि पोखरेलले झापालाई खेलकुदको हब बनाउने गरी भद्रपुर नगरपालिकाले लगानी गरिरहेको बताउँदै यसका लागि प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।

उनले अघिल्लो सरकारले मेची रंगशालाको स्तरोन्नतिका लागि छुट्याएको बजेटमा केही अंश वर्तमान सरकारले कटौती गरेको भन्दै असन्तोष व्यक्त गरे ।

झापा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा झापाको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पु्र्याउन सफल भएको भन्दै जीर्ण अवस्थामा रहेको मेची रङ्गशालाको मुहार फेरेको र चर्चित भद्रपुर झापा गोल्डकपको शुरुआत गरेको सुनाए ।

आफ्नो समितिले झापाको खेलकुद विकासका लागि निस्वार्थरुपमा अहोरात्र काम गरेको बताउँदै नवगठित समितिबाट त्यसलाई निरन्तरता दिने मात्र नभई अक्र थप काम हुनेमा आफू विश्वस्त रहेको बताए ।

जिसस झापाका उपप्रमुख रोक्काले वर्तमान अवस्थामा खेलकुद क्षेत्रमा महिला सहभागिता बढ्दै गएको बताउँदै यसले महिला सशक्तिकरणमा टेवा पुग्ने बताइन् ।

यसैबीच, जिल्ला खेलकुद विकास समिति झापाको कार्यससमितिलाई पूर्णता दिइएको छ ।

कोशी प्रदेश विकास बोर्डले यसअघि अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेकोमा सदस्यहरु पनि नियुक्त गरिसकेको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।

नेम्बाङका अनुसार समितिको सदस्यमा प्रकाश शर्मा, कमला लिम्बू, विक्रम मेचे, राजेन्द्र लिम्बू, रोशन दाहाल, रेश्मा राजवंशी, सन्तप्रसाद चौलागाईं र इन्दु न्यौपाने चयन भएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *