Oplus_131072

काठमाडौं, ३२ असार– फिफा विश्वकप २०२६ को १०४औँ तथा अन्तिम खेलमा आगामी आइतबार युरोपेली च्याम्पियन स्पेन र साविक विश्व विजेता अर्जेन्टिनाबीच ऐतिहासिक भिडन्त हुँदैछ।

न्युयोर्क न्युजर्सी स्टेडियममा हुने यो फाइनल खेल स्थानीय समय अनुसार दिउँसो ३ः०० बजे (नेपाली समय अनुसार सोमबार बिहान ०ः४५ बजे) सुरु हुनेछ।

लामो समयपछि विश्वकपको फाइनलमा फर्किएको स्पेन र लगातार दोस्रो पटक उपाधि रक्षा गर्ने दाउमा रहेको अर्जेन्टिनाबीचको यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

लुइस डे ला फुएन्टेको नेतृत्वमा रहेको स्पेन टोलीले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई पूर्ण रूपमा दबाबमा राख्दै फाइनलको यात्रा तय गरेको हो।

समूह चरणमा केप भर्डसँग गोलरहित बराबरीमा रोकिए पनि साउदी अरब र उरुग्वेलाई हराउँदै स्पेन नकआउट चरणमा पुगेको थियो।

राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३-० ले पन्छाएको स्पेनले त्यसपछिका खेलहरूमा भने कडा संघर्ष गर्नुपर्‍यो। पोर्चुगल र बेल्जियमविरुद्धको खेलमा मिकेल मेरिनोले अन्तिम समयमा गरेका निर्णायक गोलहरूको मद्दतले स्पेन अगाडि बढेको थियो।

सन् २०१० मा पहिलो पटक विश्वकप जितेयता स्पेन पहिलो पटक फाइनलमा पुग्न सफल भएको हो।

अर्कातिर, लियोनेल स्कालोनीको अर्जेन्टिनाले फाइनलसम्म आइपुग्न निकै उतारचढावपूर्ण र रोमाञ्चक यात्रा तय गरेको छ।
कप्तान लियोनेल मेस्सी यस प्रतियोगितामा उत्कृष्ट फर्ममा छन्। उनले यस विश्वकपमा मात्रै ८ गोल गरिसकेका छन् भने उनको समग्र विश्वकप गोल संख्या २१ पुगेको छ। उनी गोल्डेन बुटको पहिलो दाबेदार हुन्।

समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनमाथि सहज जित निकालेको अर्जेन्टिनाले नकआउट चरणमा भने निकै सास्ती खेप्नुपर्‍यो।

केप भर्ड र इजिप्टविरुद्ध ३(२ को रोमाञ्चक जित निकाल्ने क्रममा इजिप्टविरुद्ध ७९औँ मिनेटसम्म २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले ऐतिहासिक पुनरागमन गरेको थियो।

क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई अतिरिक्त समयमा पराजित गरेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्याण्डको सुरुवाती अग्रतालाई उल्ट्याउँदै एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोलको मद्दतले फाइनलमा स्थान सुरक्षित गरेको हो।

विश्वकपको इतिहासमा यी दुई टोलीबीच यसअघि सन् १९६६ मा मात्र एक पटक भेट भएको थियो, जहाँ अर्जेन्टिना २-१ ले विजयी भएको थियो।

त्यसयता यी दुई टोलीले १३ वटा मैत्रीपूर्ण खेल खेलेका छन्, जसमा स्पेनले ६ र अर्जेन्टिनाले ५ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएको छ।

सन् २०१८ मा भएको पछिल्लो मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६-१ को भारी अन्तरले पराजित गरेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *