बिर्तामोड, ८ साउन–जनपक्षीय पत्रकारितामा दुई दशकदेखि सक्रिय पत्रकार चुडामणि तिम्सिना (सीएम) लाई यस वर्षको ‘देवकुमार आचार्य (डि। कौडिन्य) स्मृति पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको छ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा कोशी प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका नेता इन्द्र आङ्बोले तिम्सिनालाई नगद ४२ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरे।

सोही अवसरमा स्वर्गीय देवकुमार आचार्य (डि। कौडिन्य) की धर्मपत्नी यमुना आचार्य तथा पुरस्कृत पत्रकार तिम्सिनाकी धर्मपत्नी सुनिता खरेल तिम्सिनालाई पनि सम्मान गरिएको थियो।

२०५८ सालको संकटकालमा क्याम्पसबाट प्रकाशित ‘क्रान्तिकारी आवाज’ भित्तेपत्रिकाबाट पत्रकारिता यात्रा सुरु गरेका तिम्सिना हाल प्रेस सेन्टर नेपालका पूर्व कोशी प्रदेश सदस्य, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा प्रेस क्लब सुरुङ्गाका उपाध्यक्ष हुन्। जनपक्षीय मुद्दा, श्रमजीवी पत्रकारिता र सामाजिक सरोकारका विषयमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई यस वर्षको पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

जनपक्षीय पत्रकार तथा लेखक डि कौडिन्यको २०५९ साल साउन ७ गते तत्कालीन शाही नेपाली सेनाद्वारा चारआली ब्यारेकमा हत्या भएपछि, उनको योगदानको सम्मान र स्मृतिमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले हरेक वर्ष साउन ७ गते यो पुरस्कार प्रदान गर्दै आएको छ। २०६३।०६४ सालमा तत्कालीन क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष तारामणि सापकोटा को कार्यकालमा ५ हजार रुपैयाँ राशिबाट सुरु भएको पुरस्कारको राशि अहिले ४२ हजार रुपैयाँ पुगेको छ।

यस वर्षको पुरस्कारसँगै डि.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारको संख्या १४ पुगेको छ। यसअघि लीला बराल, चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, विमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपिन राई, राजु पाठक, दिपक अधिकारी, लीलाराज झापाली, झुलन रेग्मी, डिकेश लामा र उद्धव पुरी सम्मानित भइसकेका छन्।

कार्यक्रममा प्रमुख अतिथि इन्द्र आङ्बो, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी, कोशी प्रदेश सञ्चार प्रतिष्ठानका सदस्य अर्जुन राजवंशी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी तथा नेपाल कम्युनिष्ट पार्टीका झापा संयोजक खड्ग तिम्सिना (पवन) लगायतले जनपक्षीय पत्रकारिता, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको सुदृढीकरणमा यस्ता पुरस्कारले प्रेरणा थप्ने विश्वास व्यक्त गरे।

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्पलाल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वर्गीय डि.कौडिन्यको जीवनी प्रस्तुत गरेका थिए। सहसचिव राजन साम्पाङ ले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश उप्रेती ले गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *