काठमाडौं, ८ साउन–दक्षिणपूर्वी एसियाका विभिन्न देशमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा अलपत्र परेका ८६० जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट ७३३, म्यानमारबाट ११३, लाओसबाट ८ र थाइल्यान्डबाट ६ जना नेपालीको उद्धार गरिएको जानकारी दिए।

उनका अनुसार हाल कम्बोडियाको जेलमा ४९ जना नेपाली रहेका छन्। उनीहरूलाई कानुनी सहायता उपलब्ध गराउन बैंककस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको उनले बताए।

मन्त्रालयले अनलाइन स्क्यामिङ सेन्टरमा गैरकानुनी रूपमा नेपालीलाई पठाउने गिरोहविरुद्ध कारबाहीका लागि पीडितका परिवार तथा आफन्तलाई उद्धारका लागि मन्त्रालय वा अन्य निकायमा निवेदन दिनुअघि नेपाल प्रहरीलगायत सम्बन्धित निकायमा यथार्थ विवरणसहित उजुरी दिन आग्रह गरेको छ।

यसैबीच, मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार संवेदनशील रहेको जनाएको छ।

प्रवक्ता पौडेलले शान्ति सम्झौताको पूर्ण कार्यान्वयन नहुँदा द्वन्द्व लम्बिन सक्ने र त्यसको प्रभाव नेपालीको सुरक्षा, रोजगारी तथा स्वदेशको इन्धन आपूर्ति, निर्माण क्षेत्र, पर्यटन र समग्र अर्थतन्त्रमा पर्न सक्ने भएकाले सरकारले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताए।

हालसम्म मध्यपूर्वमा रहेका नेपाली नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको कुनै सूचना प्राप्त नभएको मन्त्रालयले जनाएको छ।

प्रवक्ता पौडेलले वार्ता र कूटनीतिमार्फत नै समस्या समाधान हुन सक्ने नेपालको धारणा दोहोर्याउँदै स्ट्रेट अफ हर्मुज जलमार्गको निर्बाध सञ्चालन तथा दिगो शान्तिका अन्तर्राष्ट्रिय प्रयासप्रति नेपालको समर्थन रहेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *