काठमाडौं, २२ साउन–समस्याग्रस्त घोषित कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार पक्राउ पर्नेमा बैंकका सीईओ निरजविक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया सुभेच्छा श्रेष्ठ रहेका छन्।

सीईओ शाहको स्थायी ठेगाना पनि सोही स्थान हो। उनीहरू बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि शुक्रबार उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलासमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि नेपाल राष्ट्र बैंकले बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो। राष्ट्र बैंकबाट खटिएको व्यवस्थापन समूहका जुगल किशोर कुशहवाले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी मुद्दा दायर गरेको थियो।

यसअघि पक्राउ नगरी अनुसन्धान अघि बढाइएको भए पनि अहिले उनीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *