सिन्धुपाल्चोक, २४ भदौं–रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ।
नेपाल–चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
व्यापार व्यवसाय, भ्रमण, पर्यटनलगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण उतै रोकिएका थिए।
चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ पठाइएको हो।
स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई यही भदौ १८ गतेदेखि भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको हो।
सशस्त्र प्रहरीका अनुसार भदौ १८ गते ११४ जना, भदौ १९ गते १५५ जना, भदौ २० गते ९६ जना, भदौ २१ गते १०५ जना, भदौ २२ गते १०६ जना र भदौ २३ गते ९४ नेपाली स्वदेश फर्किएका हुन्।
सीमा क्षेत्रमा नागरिकको सुरक्षित उद्धार तथा आवागमन सहजीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट तातोपानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भूपबहादुर बुढाथोकीको नेतृत्वमा १५ जनाको विशेष टोली निरन्तर परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले विपद्का कारण अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धार तथा स्वदेश फिर्तीमा आवश्यक समन्वय र सहजीकरण भइरहेको जानकारी दिए।
