काठमाडौं, २८ भदौं–हरितालिका तीजको व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। भाद्र शुक्ल द्वितीयाका दिन दर खाने परम्परासँगै चार दिने तीज पर्व औपचारिक रूपमा सुरु हुँदैछ।

तीजको पहिलो दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ। यस दिन दूधबाट बनेका विभिन्न परिकारसँगै मीठा तथा आडिला खानेकुरा खाने गरिन्छ।

तीजको व्रतमा निराहार बस्ने भएकाले अघिल्लो दिन शरीरलाई आवश्यक शक्ति सञ्चय गर्न दर खाने परम्परा रहिआएको हो। धर्मशास्त्रविद् प्रा। तोयराज नेपालका अनुसार दरमा गहुँको रोटी, घिउलगायतका परिकार खाने धार्मिक तथा सामाजिक परम्परा छ। उनका अनुसार दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ।

तीज धार्मिक पर्वसँगै महिलाले वर्षभर आफूले भोगेका दुःख, पीडा र मर्का व्यक्त गर्ने अवसरका रूपमा समेत मनाउने गरेका छन्।

तीजका गीतमार्फत महिलाले जन्मघर छाडेर कर्मघरमा रहँदा भोगेका सामाजिक तथा पारिवारिक अवस्थालाई अभिव्यक्त गर्ने परम्परा पनि छ।

दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत बस्ने, चौथीका दिन गणेशको पूजा गर्ने र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुन्छ।

यस वर्ष भदौ ३० गते मंगलबार गणेश चौथी पर्व मनाइनेछ। भगवान् गणेशको उत्पत्ति भएको विश्वासका आधारमा यो पर्व मनाउने धार्मिक परम्परा छ। यद्यपि पात्रो स्वीकृति समितिले स्वीकृत गरेका केही पात्रोमा भदौ ३० गते नै ऋषि पञ्चमी पनि उल्लेख गरिएको छ।

शास्त्रीय विधिअनुसार गणेश चौथी प्रातःकालमा चतुर्थी तिथि परेको दिन र ऋषि पञ्चमी मध्याह्नकालमा पञ्चमी तिथि परेको दिन मनाउनुपर्ने व्यवस्था रहेको धर्मशास्त्रविद्हरूले बताएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *