काठमाडौं, १ असोज–आज असोज १ गते देशभर विश्वकर्मा पूजा मनाइँदै छ। उद्योग, कलकारखाना, वर्कसप, ग्यारेज तथा विभिन्न व्यापारिक प्रतिष्ठानमा प्रयोग हुने मेसिन, औजार, यन्त्र र सवारीसाधनको पूजा गरी भगवान् विश्वकर्माको आराधना गरिँदैछ।

धार्मिक मान्यताअनुसार समुद्र मन्थनबाट उत्पत्ति भएका भगवान् विश्वकर्माको जन्म असोज १ गते भएको विश्वास गरिन्छ। यही मान्यताका आधारमा आजको दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ।

विश्वकर्मा पूजाका अवसरमा उद्योग तथा कलकारखानामा कार्यरत मजदुर, शिल्पकार, कलाकार, प्राविधिक तथा उद्यमीहरूले आफ्ना मेसिनरी सामान र औजार सफा गरी विशेष पूजा गर्ने चलन छ।

यस्तै, नयाँ सवारीसाधन खरिद गर्ने तथा पुराना सवारीसाधनको समेत पूजा गर्ने परम्परा छ। काठमाडौंका भद्रकाली, दक्षिणकालीलगायत देशभरका विभिन्न शक्तिपीठमा सवारीसाधन पूजा गराउन पुग्नेको बिहानैदेखि भिड लागेको छ।

धार्मिक तथा पौराणिक मान्यतामा भगवान् विश्वकर्मालाई देवशिल्पी तथा वास्तुकारका रूपमा वर्णन गरिएको छ। उनलाई विश्वकै पहिलो इन्जिनियर तथा वास्तुकार मान्ने धार्मिक विश्वाससमेत पाइन्छ।

पौराणिक कथाअनुसार विश्वकर्माले स्वर्गलोक, लंका, द्वारिका तथा विभिन्न देवताका अस्त्र–शस्त्र निर्माण गरेका थिए। कृष्णको द्वारका र पाण्डवको मयसभा पनि विश्वकर्माले निर्माण गरेको धार्मिक मान्यता छ।

भगवान् विश्वकर्माको महिमा ऋग्वेदका विभिन्न ऋचामा समेत वर्णन गरिएको धार्मिक ग्रन्थका अध्येताहरू बताउँछन्। सृष्टि र सिर्जनात्मक कर्मसँग विश्वकर्मालाई जोडेर हेर्ने भएकाले सीप, दक्षता, कार्यकुशलता र समृद्धिका लागि उनको पूजा गर्ने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार विश्वकर्माको आराधनाले कार्यक्षेत्रमा आउने बाधा–अड्चन हट्नुका साथै सीप र दक्षता वृद्धि हुन्छ।

पौराणिक कथाहरूमा विश्वकर्माले विभिन्न समयमा देवता तथा मानवका लागि निर्माण गरेका संरचनाका प्रसङ्गसमेत उल्लेख छन्। यही धार्मिक विश्वासका आधारमा उद्योग, व्यवसाय, निर्माण तथा प्राविधिक क्षेत्रमा संलग्नहरूले हरेक वर्ष असोज १ गते विश्वकर्माको पूजा गर्दै आएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *