शिबगञ्ज (शिवसताक्षी), १२ असोज–झापाको शिवसताक्षी नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा पूर्णकालिक प्रधानाध्यापक नियुक्त गरेको छ ।

नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी माध्यमिक तथा आधारभूत तहका २३ वटा सामुदायिक विद्यालयमा विद्यालय विकास प्रस्तावमार्फत छनोट भएका शिक्षकलाई पूर्णकालिक प्रधानाध्यापकको नियुक्ति पत्र प्रदान गरेको हो ।

विद्यालय विकास प्रस्ताव मूल्याङ्कन प्रक्रियाबाट उत्तीर्ण भएका शिक्षकलाई प्रधानाध्यापक पदमा पाँच वर्षे करार सम्झौतासहित नियुक्त गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयको नेतृत्वलाई थप प्रभावकारी बनाउँदै शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन तथा कार्यसम्पादनमा प्रधानाध्यापकलाई थप जिम्मेवार बनाउने उद्देश्यले पूर्णकालिक प्रधानाध्यापकको व्यवस्था गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिक्षा ऐनले तोकेको प्रावधानअनुसार विद्यालय विकास प्रस्ताव तयार गरी त्यसैका आधारमा प्रधानाध्यापक नियुक्त गर्ने कार्यमा शिवसताक्षी नगरपालिका झापामै अग्रणी रहेको बताउनुभयो । विद्यालयको समग्र विकासका लागि प्रधानाध्यापकलाई जिम्मेवारीसँगै आवश्यक अधिकारसमेत प्रदान गरिएको उहाँको भनाइ थियो ।

“विद्यालयको नेतृत्व बलियो भयो भने मात्रै शैक्षिक सुधारले गति लिन सक्छ” नगरप्रमुख थोप्राले भन्नुभयो, “पूर्णकालिक प्रधानाध्यापक नियुक्तिसँगै उहाँहरूको जिम्मेवारी र जवाफदेहिता पनि बढेको छ । यसले विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौँ ।”

नगरप्रमुख थोप्राले नगरभित्रका केही विद्यालयमा प्राविधिक तथा प्रक्रियागत समस्या रहेका कारण तत्काल प्रधानाध्यापक नियुक्त गर्न नसकिएको बताउँदै ती समस्या समाधान गरी बाँकी विद्यालयमा समेत विद्यालय विकास प्रस्तावका आधारमा पूर्णकालिक प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनु कार्कीले नवनियुक्त प्रधानाध्यापकहरूलाई बधाई तथा शुभकामना दिँदै नियुक्तिसँगै थप जिम्मेवारीसमेत बढेको बताउनुभयो । उहाँले प्रधानाध्यापकको कार्यसम्पादनका आधारमा थप एक कार्यकालका लागि अवधि थप गर्न सकिने कानुनी व्यवस्था रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्णकालिक प्रधानाध्यापकले अपेक्षाअनुसार प्रभावकारी कार्यसम्पादन गर्न नसकेमा कानुनमा व्यवस्था भएबमोजिम नगरपालिकाले आवश्यक निर्णय लिन सक्ने प्रावधानसमेत रहेको छ । त्यसैले प्रधानाध्यापकहरूले विद्यालयको शैक्षिक सुधार, प्रशासनिक व्यवस्थापन, शिक्षक–विद्यार्थीको समन्वय तथा विद्यालयप्रति समुदायको विश्वास बढाउने विषयमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

नवनियुक्त प्रधानाध्यापकहरूलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे तथा सम्बन्धित वडाध्यक्षहरूले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँहरूले विद्यालयको शैक्षिक वातावरण सुधार गर्दै विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रधानाध्यापकहरूलाई आग्रह गर्नुभयो ।

विद्यालय विकास प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्त भएपछि विद्यालयको नेतृत्व व्यक्तिगत प्रभावभन्दा पनि कार्ययोजना, जिम्मेवारी र कार्यसम्पादनसँग जोडिने अपेक्षा गरिएको छ । नयाँ व्यवस्थाले विद्यालयको नियमित प्रशासनिक व्यवस्थापनसँगै पठनपाठनको गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धि, शिक्षकको कार्यसम्पादन र विद्यालयको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने नगरपालिकाले जनाएको छ ।

शिवसताक्षी नगरपालिकाले बाँकी विद्यालयमा देखिएका प्रक्रियागत तथा प्राविधिक समस्या समाधान गर्दै क्रमशः पूर्णकालिक प्रधानाध्यापक नियुक्त गर्ने जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *