बेलडाँगी (दमक), १५ असोज–झापाको दमकमा आजदेखि कोशी प्रदेश जिल्लास्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ सुरु भएको छ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक दमक भेट्रान (निलों) ले जहदा भेट्रान मोरङलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
दमक–२ बेलडाँगी खेलमैदानमा भएको खेलमा दमक भेट्रान निलोका तर्फबाट खेलको १०औँ मिनेटमा जर्सी नम्बर ११ का गंगा लिम्बूले पहिलो गोल गरेका थिए। लगत्तै ११ मिनेटमा जर्सी नम्बर १० का जगेस चौधरीले गोल गर्दै दमक भेट्रान जदालाई खेलमा फर्काएका थिए।
त्यसपछि दमक भेट्रान निलोका जर्सी नम्बर १० का हरि शर्माले खेलको १९औँ मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। हाफ टाइमपछि थपिएको समयको अन्तिम मिनेटमा शर्माले व्यक्तिगत दोस्रो गोल गरेपछि दमक भेट्रान निलो ३–१ ले विजयी भएको हो।
यो जितसँगै दमक भेट्रान निलो प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। उसले बिर्तामोड भेट्रानसँग आगामी १७ गते भिडन्त गर्ने छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विजेताले प्राप्त गर्ने १ लाख रुपैयाँ पुरस्कार दमकस्थित माया क्याफेले सौजन्यस्वरूप सहयोग गरेको आयोजकले जनाएको छ।
सो समारोहमा दमकमा फुटबल खेलको विकासमा लामो समयदेखि क्रियाशिल पूर्व खेलाडीहरुलाई सम्मान गरिएको छ ।
यसरी सम्मान हुने खेलाडीहरुमा फुटबलतर्फ हस्तबहादुर दर्लामी मगर, गणेश चाम्लिङ राई लक्ष्मी रिजाल र गजु (गजेन्द्र) देवान, धनजीत रुमाहाङ राई, नारदमणी राई, शनबहादुर धिमाल, धिरेन सुब्बा, सुन्दर धिमाल, मीनबहादुर दर्लामी मगरसहित बक्सिङतर्फ केशरबहादुर मगर छन् ।
सम्मानित पूर्व खेलाडीहरुलाई दमक नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराई प्रसाई र दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र (गजु) देवानले सम्मान गरेका थिए । सो समारोहमा दमक ३ का वडाध्यक्ष नबिन बराल, वडा नं १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने र २ का वडाध्यक्ष प्रजापति सापकोटाको उपस्थिति रहेका थिए ।
सो समारोहमा आयोजक दमक भेट्रान फूटबल क्लबका सचिव ज्ञानेन्द्र (वीरेन) राईले स्वागत मन्तव्य राखेका थिए भने रामचन्द्र अधिकारी (आरसी) ले कार्यक्रमको सञ्चालन गरेका थिए ।
दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भइरहेको छ। उद्घाटन समारोहमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।

