काठमाडौं, १६ असोज–अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस दोस्रो डिभिजन ‘ला लिगा २’ को क्लब सीडी एल्डेन्से खरिद गरेका छन्।

आवश्यक नियामकीय स्वीकृति प्राप्त भएपछि क्लबको स्वामित्व हस्तान्तरण प्रक्रिया औपचारिक रूपमा पूरा भएको हो। ३९ वर्षीय मेसीले स्पेनिस क्लबमा लगानी गरेको यो दोस्रो पटक हो। यसअघि गत अप्रिलमा उनले क्याटालोनियाको क्लब कोर्नेला खरिद गरेका थिए।

एल्डेन्सेले आफ्नो आधिकारिक वेबसाइटमार्फत १०० वर्षभन्दा पुरानो इतिहास बोकेको क्लबको स्वामित्व मेसीले लिएको औपचारिक घोषणा गरेको छ। क्लबका अनुसार मेसीको आगमनसँगै एल्डेन्सेको इतिहासमा नयाँ अध्याय सुरु भएको छ।

एलिकान्टेमा आधारित एल्डेन्सेले क्लबको खेलकुद, संस्थागत तथा सामाजिक विकासलाई दीर्घकालीन रूपमा अघि बढाउने लक्ष्यसहित मेसीले लगानी गरेको जनाएको छ।

गत सेप्टेम्बरमा मेसी र क्लबबीच उनी मुख्य सेयरधनी बन्ने प्रारम्भिक सहमति भएको थियो। आवश्यक प्रक्रिया पूरा भएसँगै स्वामित्व हस्तान्तरण भएको हो।

हाल २२ टोली सहभागी ला लिगा २ मा एल्डेन्से ५ अंकसहित १९औँ स्थानमा छ। टोलीले लिगका सुरुआती सात खेलमध्ये एक खेलमा मात्र जित हात पारेको छ।

आठ पटकका बालोन डी’ओर विजेता मेसी हाल अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका मेसीले गत अगस्टमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए।

मेसीले सन् २००४ मा १७ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए। बार्सिलोनाका लागि उनले ७७८ खेलमा कीर्तिमानी ६७२ गोल गरेका थिए।

सन् २०२१ मा बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन ९पीएसजी० पुगेका उनी सन् २०२३ मा अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका थिए।

पछिल्लो समय चर्चित भेट्रान फुटबलरहरूले स्पेनिस क्लबमा लगानी गर्ने क्रम बढेको छ। मेसीका पूर्व प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोले पनि गत फेब्रुअरीमा स्पेनकै अर्को क्लब अल्मेरियाको २५ प्रतिशत सेयर खरिद गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *