दमक, १८ असोज–झापामा ७० प्रतिशत सर्वसाधारणले जापानिज इन्सेफ्लाइटिस (जेई)विरुद्धको खोप लगाएका छन् । जेईको प्रकोप बढ्न थालेपछि सरकारले जिल्लाका १५ वटै स्थानीय तहमा लक्षित गरी खोप अभियान सुरु गरेको थियो ।
तीन महिनाभित्र झापामा जेईबाट ७ जनाको मृत्यु भएको थियो । प्रकोप बढ्न थालेपछि सरकारले गत ५ असोजदेखि १५सम्म झापामा जेईविरुद्धको खोप अभियान सुरु गरेको थियो ।

११ दिनमा लक्षित जनसंख्याको ७० प्रतिशतभन्दा बढीले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । असोज १५ गते अपरान्ह ४ बजेसम्म झापाका ४ लाख ९३ हजार ३ सय १९ लक्षित जनसंख्यामध्ये ३ लाख ४६ हजार ७ सय ७७ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख व्रिजकुमार दासले जनाए । ‘लक्षित जनसंख्याको ७० दशमलव ३ प्रतिशतले खोज लगाएका छन्’, उनले भने ।

अझै १ लाख ४६ हजार ५ सय ४२ जना खोपको पहुँचमा आएका छैनन् । दासका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका करिब १० प्रतिशत जनसंख्या देशबहिर रहेका कारण पनि लक्ष्य पूरा हुन नसकेको हो । दासका जिल्लामै रहेका र खोप लगाउन छुटेकाहरुलाई सोमवारदेखि शुक्रवारसम्म स्वास्थ्य संस्थामार्फत पुनः खोज लगाइने छ ।

झापाका १५ स्थानीय तहमध्ये १० वटाले जिल्लाको औसत प्रगति पार गरेका छन् । बाँकी पाँच स्थानीय तहमा भने खोप अभियानको गति अपेक्षाकृत सुस्त देखिएको छ ।

हल्दिबारी गाउँपालिकामा ८१ प्रतिशत, बाह्रदशीमा ७७ दशमलव ५, गौरीगञ्जमा ७६ दशमलव ७, झापा गाउँपालिकामा ७६ दशमलव १, कचनकवलमा ७५ दशमलव १, कनकाई नगरपालिकामा ७४ दशमलव ६ र बिर्तामोडमा ७४ दशमलव १ प्रतिशत लक्षित जनसंख्याले खोप लगाएका छन् ।

मेचीनगरमा ७२ दशमलव ८ र बुद्धशान्तिमा ७१ दशमलव ८ प्रतिशतले खोप लगाएका छन् । गौरादह नगरपालिकामा ७० दशमलव २ प्रतिशतले दमकमा ६८ दशमलव २, अर्जुनधारामा ६७ दशमलव २ र शिवसताक्षीमा ६३ दशमलव ९ प्रतिशतले खोप लगाएका छन् ।

सबैभन्दा कम भद्रपुर नगरपालिकामा देखिएको छ । भद्रपुरमा ३४ हजार ६ सय ८० लक्षित जनसंख्यामध्ये १८ हजार ३ सय ७३ जनाले मात्रै खोप लगाएका छन् । यो ५३ प्रतिशत मात्रै हो ।

भद्रपुरमा करिब १६ हजार ३ सय जनालाई खोपको दायरामा ल्याउन सकिएको छैन । संख्याका आधारमा सबैभन्दा धेरै खोप मेचीनगरमा लगाइएको छ । त्यहाँ ४६ हजार ७ सय ५० जनाले खोप लिएका छन् । त्यसपछि बिर्तामोडमा ४४ हजार २ सय ६२ र दमकमा ३७ हजार ७ सय ३६ जनाले खोप लगाएका छन् ।

खोप लगाउनेमध्ये महिलाको संख्या पुरुषको तुलनामा बढी छ । खोप लगाउनेमध्ये करिब ५७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुष छन् । अभियानअन्तर्गत हालसम्म खोप लगाएका ३ लाख ४६ हजार ७ सय ७७ जनामध्ये १ लाख ९७ हजार ९० जना महिला छन् । पुरुषको संख्या १ लाख ४९ हजार ६ सय ८७ छ ।

विशेषगरी ३० देखि ६० वर्ष उमेर समूहमा महिलाको सहभागिता उल्लेख्य देखिन्छ । उक्त उमेर समूहमा १ लाख ५३ हजार ७ सय ४४ महिलाले खोप लगाउँदा पुरुषको संख्या १ लाख ८ हजार २ सय १९ छ ।

६० वर्षभन्दा माथिको उमेर समूहमा भने महिला र पुरुषको सहभागिता लगभग बराबर छ । उक्त समूहमा ४३ हजार ३ सय ४६ महिला र ४१ हजार ४ सय ६८ पुरुषले खोप लगाएका छन् ।

अभियानमा खोप लगाउने कुल जनसंख्यामध्ये करिब तीन चौथाइ ३० देखि ६० वर्ष उमेर समूहका छन् । यो समूहमा मात्रै २ लाख ६१ हजार ९ सय ६३ जनाले खोप लगाएका छन् । जेईविरुद्धको खोप नेपालमा सन् १९९९ वाट सुरु गरिएको हो । २० वर्षअघि नै १ वर्षमुनिका बच्चालाई यो खोप दिइसकिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *