सुरुङ्गा (कनकाई), १५ मंसिर–लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले नगरपालिकाको सभाहलमा दुई दिवसीय कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लैंगिक हिंसा सम्बन्धी कानूनी शिक्षा प्रदान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख टीका खतिवडाले जानकारी दिनुभयो ।

कार्यक्रममा कनकाई–१ का १६ वटा महिला समूह र १६ वटा टोल विकास समितिका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो । दुई दिवसीय प्रशिक्षण कार्यक्रमको पहिलो दिनको प्रशिक्षण इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुरज कार्की र दोस्रो दिनको प्रशिक्षण अधिवक्ता तारा बारकोटीले दिनुभएको थियोे ।

प्रशिक्षण कार्यक्रममा अधिकांश लैंगिक हिंसाका घटना घरपरिवार, आफन्तबाटै हुने गरेको अधिवक्ता बारकोटीले बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले गर्भावस्थादेखि नै महिला हिंसा शुरु हुने गरेको बताउनुभयो । उहाँले महिला हिंसा न्यूनीकरणका लागि सबैको सामूहिक पहल, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख पिताम्बर गौतम, वडा नं। १ का अध्यक्ष सुशील कुमार पोखरेल, वडा सदस्य दलबहादुर थापा, सहजीकरण महिला समूहकी अध्यक्ष लीला प्याकुरेल, वडा सदस्य संगीता ल्वागुन घतानी, वडा सदस्य हरिकुमार राई लगायतले शुभकामना मन्तव्य राख्दै लैंगिक हिंसा जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियोे ।

नगर उपप्रमुख शिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रमा वडा सदस्य निर्मला खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडाले गर्नुभएको थियो । कनकाईमा अझै २र३ दिनभित्रैमा वडा न ५ र ८ मा यस्तो प्रशिक्षण तथा अन्तर्कृया कार्यक्रम गरिने कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर विविध कार्यक्रमको आयोजना गरि मनाइन्छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा मुख्यत महिलामाथि हुने हिंसा विरुद्ध आवाज उठाउँदै लैङ्गिक समानता र सामाजिक न्यायका पक्षमा कार्यक्रमहरु केन्द्रित हुने गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *