झिलझिले, १० चैत–झापाको झिलझिलेमा प्रदेशस्तरीय नविन राई स्मृति दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत १५ देखि २२ गतेसम्म हुने आयोजक संस्था झिलझिले मेट्रान क्लबले आज (शनिबार) पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
झिलझिले भेट्रान फुटबल क्लबले झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा आयोजना हुने भएको छ । प्रतियोगिताको बारेमा झिलझिले भेट्रान क्लबका संस्थापक तथा प्रतियोगिता सम्पन्न समितिका संयोजक जसु कुलुङ राईले कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाउने बताए ।
संयोजक राईका अनुसार प्रतियोगिता आयोजक क्लबका दुईवटा टिमले सहभागिता जनाउने छ ।
प्रतियोगितामा सुनसरीको रामधुनी, झापाको बिर्तामोड, चन्द्रगढीको सिविसी, धुलाबारी, हाम्रो भेट्रान धरान, दमक लखनपुर भेट्रान क्लब, आयोजक निलो, पूर्वेली भेट्रान बिर्तामोड र एभरेष्ट भेट्रान मोरङले सहभागिता जनाउने छन् ।
क्लबका आर्थिक समितिका संयोजक सन्तोष थेगिम हण्डुले प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । आर्थिक संयोजक थेगिमलेका अनुसार प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न, खेल–लप्रेमीलगायत बैदेशिक रोजगारीमा गएको दाजुभाइहरुको सहयोगको अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ । आयोजकले प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरेको छ ।
झिलझिले भेट्रान क्लबका अध्यक्ष बमबहादुर राईको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । पत्रकार सम्मेलनमा झिलझिले भेट्रान क्लबका टीम व्यवस्थापक मुकुम सुब्बा, झिलझिले गोल्डकपका अध्यक्ष रमेश लावोती, कराँते खेलका प्रशिक्षका दुर्गा उप्रेती, सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाका सदस्य समिर चापागाई, युवा व्यवसायी प्रदिप कार्की, समाजसेवी क्लब झिलझिलेका राजु त्रिखत्री, काजी रिङ्गालुङ राई, तिलक राई, लगायतको उपस्थिति थियो ।
पूर्वखेलाडी तथा झिलझिलेका सामाजिक अगुवा नबीन राई केही वर्ष अघि सवारी दुर्घटनामा परेर ज्यान गुमाएका थिए । स्वर्गीय राईको स्मृतिमा परिवारसंगको छलफलपछि यस वर्षको प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगितामा नबीन राई स्मृती बनाइएको हो । नबीन राईका एक छोरी र श्रीमतीसहित आमा र बुबा झिलझिलेमा बसोबास गर्दै आएका छन् । सो पत्रकार सम्मेलनलाई क्लबका सदस्य तथा शिक्षक राम भेटुवालले सहजिकरण गरेका थिए ।
