दमक, १० चैत–झापाको दमकमा आज (शनिबार) आयोजित कार्यक्रमकाबीच भारत आसामको नेपाली भाषी साहित्यकार डम्बर दाहालसहित पाँच जना स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
साहित्य कलाका क्षेत्रमा लामो समयदेखि क्रियाशील साहित्य कला संगम दमकको आयोजनामा विशेष कार्यक्रम गरी जनही नगद ३५ हजार राशीका तीन वटा अलग अलग पुरस्कारबाट ति स्रष्टाहरुलाई सम्मान गरिएको हो ।
सो अवसरमा आसाम कार्विआङलङका नेपाली भाषी साहित्यकार दाहाललाई संस्था अन्तर्गत स्थापित भवानी मिश्र पुरस्कारबाट सम्मान गरिएको हो । उनलाई लामो समयदेखि आसाममा रहेर नेपाली भाषा, साहित्यको क्षेत्रमा विशिष्ट योगदान गरे वापत सो सम्मान गरिएको हो । त्यस्तै झापाली साहित्यकार डा। देवी नेपाल र संखुवासभाका ताराबहादुर बुढाथोकीलाई पनि सोही पुरस्कारबाट सम्मान गरिएको छ ।
त्यस्तै साहित्यकला श्री पुरस्कारबाट दमककी कमला खनाललाई सम्मान गरियो । उनी झण्डै दुई दशकदेखि निरन्तर कला संगीतका क्षेत्रमा क्रियाशील छिन । पछिल्लो समय बिहानी कला केन्द्र स्थापना गरेर संगीत प्रशिक्षण समेत सञ्चालन गरिरहेकी छिन ।
सोही कार्यक्रममा तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट मोरङकी रेखा सुवेदीलाई सम्मान गरिएको । ति दुवै पुरस्कारको राशी समेत जनही जनही ३५ हजार र साथमा स्मृति चिन्ह र सम्मानपत्र रहेको थियो ।
भाषाविद् प्राध्यापक डा। टंक न्यौपानेको प्रमुख आतिथ्य र साहित्य कला संगम दमकका अध्यक्ष विष्णु नेउपानेको सभापतित्वमा आयोजित पुरस्कार तथा सम्मान अर्पण समारोहमा सम्मानित व्यक्तित्वहरुलाई ति पुरस्कारका संस्थापकहरु भवानी मिश्र र डा. लेखनाथ न्यौपानेसहित साहित्यकार चन्द्र भण्डारी, साहित्य कला संगम दमकका पूर्व अध्यक्ष ओम खनाल लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममाको सञ्चालन महासचिब दीपक सुबेदीले गरेका थिए ।
