भद्रपुुर, ९ चैत–दादुरा–रुबेला खोप अभियान अन्तरगत झापामा लक्ष्यभन्दा बढी बालबालिकाले खोप लगाएका छन् ।

गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन भएको अभियान अन्तरगत जिल्लामा दुई लाख ५६ हजार तीन सय ९५ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक प्रकाश पाठकले जानकारी दिनुभयो ।

जिल्लामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका दुई लाख ३६ हजार १७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि सोभन्दा २० हजार तीन सय ७८ जना बालबालिकालाई खोप लगाइएको उहाँले बताउनुभयो । कार्यालयले ९५ प्रतिशत खोप लगाउने लक्ष्य राखे पनि एक सय नौ प्रतिशतलाई खोप लगाएको छ ।

अभियानका क्रममा नियमित खोपमा छुटेका खोपहरु पेन्टा, पीसीभी र आइपीभी समेत लगाइएको थियो । यी तीनवटा खोप छुटेका ६५ जना बालबालिकालाई ९कुनै एक, दुई वा तीनै छुटेका० समेत खोप लगाइएको छ ।

खोप लगाउने दर राम्रो भए पनि केही अझै छुटेको कार्यालयका निमित्त प्रमुख रमेश बाराकोटीले बताउनुभयो । “विद्यालयमा खोप लगाउने क्रममा विद्यार्थीहरु भागिदिँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “धेरै नभए पनि केही मात्रामा छुटेको छ ।”

बसाइँसराइ र कक्षा–१० सम्मको विद्यार्थीलाई खोप लगाइएकाले खोप लगाउने प्रतिशत बृद्धि भएको उहाँको भनाइ छ । सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेला रोग उन्मुलन गर्ने लक्ष्य लिएको छ । सोही अनुरुप झापामा दादुरा–रुबेला खोप अभियान सञ्चालन भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *