दमक, १० चैत–झापाको शिबसताक्षी–९ मा अवस्थित धार्मीक तथा पर्यटकीयस्थल चिल्लागढधाम परिसरमा आज सरसफाई गरिएको छ । नेकपा (एमाले) शिबसताक्षी नगर कमिटीको प्रभात फेरी कार्यक्रम अन्तर्गत नगरका सबै वडामा रचनात्मक कार्यक्रम सञ्चालन भएको छ ।
एमाले झापा जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा जिल्ला कमिटीको निर्णय अनुसार शिवसताक्षीमा विभिन्न कार्यक्रम सञ्चालन भएको हो । शिवसताक्षी वडा ९ को वडा कमिटीले नगरको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा झरीकाबीच पनि सरसफाई गरेको एमाले नगर अध्यक्ष तथा शिबसताक्षी नगर प्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए ।
त्यस्तै, वडा कमिटी ४ ले जनता बजारमा रहेको वडा नं ४ को कार्यालयमा सरसफाई गरेको जनाएको छ । नेकपा एमालेले नगरका अधिकांश वडाहरुमा विभिन्न कार्यक्रम गरेको एमाले नगर कमिटीले जनाएको छ ।
एमालेको झापा जिल्ला अधिवेशन यही चैत्र १५ र १६ गते हुने भएको छ । जिल्ला अधिवेशनका लागि सबै झापा सबै नगर तथा वडाहरुबाट प्रतिनिधि छनौट समेत भइसकेको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।
