नेत्ररोग विशेषज्ञ डा रुइत

दमक, १५ चैत–झापाको भद्रपुरस्थित रुद्र–गौरी अम्बिका ओली प्रतिष्ठानले बैशाख ४ गते पुरस्कार बितरण गर्ने भएको छ । प्रतिष्ठानले बिहीवार भद्रपुरमा पत्रकार सम्मेलन गरेर १०औं सम्मान तथा पुरस्कार बितरण बारेमा जानकारी दिएको हो ।

प्रतिष्ठानले यस बर्ष श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट ‘विश्वमा दृश्यका देवता’ भनेर परिचित काठमाडौंका डा.सन्दुक रुइतलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । नेपालकै सर्वाधिक पुरस्कार राशी मध्येको उक्त पुरस्कारको राशी ५ लाख रुपैयाँ रहेको छ ।

नेपालसहित विश्वभर छरिएर रहेका नेपालीको गौरव आँखाका विश्व प्रख्यात डा.रुइतलाई यस बर्ष पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए । डा.रुइतले सरल र कम लागतमा आँखामा हुने मोतिबिन्दु उपचारको चिकित्सा ‘रुइतेक्टोमी’ को शुरुवात गरेका थिए ।

त्यसैगरी यसबर्ष देबी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थित डुम्रिबोटका सविन बाँस्कोटालाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी एकलाख एक हजार १११ रुपैयाँ रहेको छ । प्रतिभाशाली सविनले १७ बर्षकै उमेरमा मिनी एरोप्लेन, रोबर्ट, ड्रोन, मोटरसाइकल, साइकललगायतका सामाग्री निर्माण गरेका छन् ।

२०८१ बैशाख ४ गते भद्रपुर–७ स्थित श्रीकृष्ण दौपायन गुरुकुल वेद बिद्याश्रममा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिने प्रतिष्ठानका अध्यक्ष ओलीले बताएका छन् ।

प्रतिष्ठानका अध्यक्ष ओलीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा ओली बंश केन्द्रिय समन्वय समितिका अध्यक्ष उमेशचन्द्र ओलीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा ओली बंश केन्द्रिय समन्वय समितिका महासचिव मोहनप्रसाद ओली, श्रीकृष्ण दौपायन गुरुकुल वेद बिद्याश्रमका संस्थापक अध्यक्ष गणेश भट्टराई, लेखनाथ पुस्ताकालयका अध्यक्ष कृष्ण सुवेदी (निराकार), झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव नारायणप्रसाद ओलीले गरेका थिए ।

प्रतिष्ठानले बि।सं। २०६७ सालदेखि कृषि, साहित्य तथा पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै बिभिन्न बिधामा पुरस्कार बितरण गर्दै आएको छ । त्यस्तै प्रतिष्ठानले सामाजिक क्षेत्रमा समेत बिभिन्न गतिबिधि गर्दै आएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *