प्रेम गिरी र शिव ढुङगेल

दमक, १७ चैत–नेकपा (एमाले) झापाको ११औँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज भएको मनोनयन पत्र दर्ता गर्ने प्रक्रियामा तीनजना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । जसअनुसार अध्यक्ष पदमा प्रेमबहादुर गिरी, उपाध्यक्षमा शिवकुमार ढुंगेल र महिला उपसचिवमा अनिता कन्दङवाको मात्र मनोनयन पत्र दर्ता भएको जनाइएको छ ।

पदाधिकारीमध्ये सचिवमा २ जनाको उम्मेदवारी परेको छ भने पुरुष उपसचिवतर्फ ३ जनाको मनोनयन दर्ता भएको बुझिएको छ । सचिव पदमा तुलसी कार्की र बोधराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । यसैगरी उपसचिव ९पुरुष० पदमा असारु राजबंशी, चन्द्र सुब्बा र टिकाराम मंग्रातीले उम्मेदवारी दर्ता गराएका छन् ।

भोलि निर्वाचन गर्ने तयारी गरिएको थियो । तर, आज दिउँसो अध्यक्ष मण्डलको बैठकले भोलि दिनभर सहमतिका लागि समूह विभाजन गरी काम बाँडफाँड गरेको घोषणा गरेको छ । केन्द्रीय सदस्य दिपक कार्कीले सर्वसम्मत नाम टुङ्ग्याउन सबै पालिकाका इन्चार्जसहितको टिम निर्माण गरिएको जानकारी गराए । जिल्ला भूगोलका उम्मेदवारहरु र बिर्तामोड भूगोलका सबै उम्मेदवारलाई आइतबार बिहान ८ बजे अधिवेशन हलमा छलफलका लागि बोलाइएको छ ।

यसैगरी अरु सबै पालिकाले आफ्नो भूगोलको पायक पर्ने स्थानमा उम्मेदवारहरु बीच छलफल गर्ने। सहमति गर्ने र दिउँसो ३ बजेभित्र अन्तिम नामावली अध्यक्षमण्डललाई बुझाउनु पर्ने निर्देशन गरिएको छ ।

आइतबार सहमति नभएका पदहरुमा सोमबार जिल्ला पार्टी कार्यालयमा मतदान गर्ने निर्णय भएको केन्द्रीय सदस्य कार्कीले जनाए ।

अधिवेशनमा पालिकाबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ४२ जना गरी ८२३ जना सहभागी भएका छन् ।

जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको कमिटी बन्ने छ । जिल्ला कमिटीले थप १५ जना मनोनित गर्नेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *