दमक, २२ चैत–महिलाहरुमा स्तन र पाठेघरको मुखको क्यान्सरको जोखिम अवस्थाबारे जानकारी लिँदै प्रारम्भिक चरणको उपचार सेवा समेत प्रदान गर्ने उद्धेश्यले दमकमा शुरु भएको प्रजनन स्वास्थ्य शिविर बुधबार दमक ३ मा सम्पन्न भएको छ ।

सो वडामा पर्ने आमचोकस्थित नगर स्वास्थ्य केन्द्रमा भएको शिविरको उदघाटन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, दमक ३ का वडाध्यक्ष नबिन बराल, नगर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराई लगायतले त्यस किसिमको शिविरबाट नगरको सबै भुभागका महिलाहरुले लाभ लिन सक्ने बताए । उनीहरुले महिलाहरुमा बढ्दो क्यान्सरको जोखिमलाई न्युनिकरण गर्ने र क्यान्सर सम्बन्धिको सचेतना जगाउने शिविरको मुख्य लक्ष्य रहेको उल्लेख गरे ।

त्यस किसिमको शिवरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण ९ भिआईए० गरिनुका साथै स्क्रिनिङका माध्यमबाट स्तन क्यान्सरको जोखिमको पूर्व अवस्था थाहा पाउन सकिने कार्यक्रममा जानकारी दिइयो ।

सो अवसरमा कूल १४२ जना महिलाको स्वास्थ्य परिक्षण गरिएको नगरपालिकाको स्वास्थ्य शाखाकी निरिक्षक समेत रहेकी कार्यक्रमकी फोकल पर्सन देविका न्यौपानेले जानकारी दिइन् ।
शिविरमा दमक अस्पताल र नगर स्वास्थ्य शाखामा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरु खटिएका थिए ।

दमक ३ का वडाध्यक्ष नबिन बरालले सो शिविरबाट वडाका विभिन्न टोल–टोलबाट लक्षित महिला दिदीबहिनीहरु सहभागी भएको जानकारी दिए । यसले दैनिक घरायसी र बाह्य कामकाजमा खटिनु पर्ने महिलाहरुलाई सहजता पुगेको बताएका छन ।

भिडिओ एक्सरे सेवा सहित सञ्चालन गरिँदै आएको त्यस किसिमको स्वास्थ्य शिविर यसअघि दमकको ६ नम्बर वडामा सञ्चालन गरिएको थियो । नगरपालिकाले यस किसिमको शिविर दमकका सबै वडा वडामा सञ्चालन गर्ने कार्यक्रम ल्याएको नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले जानकारी दिइन ।

महिलाहरु आफना स्वास्थ्य समस्याबारे खुलेर अझै पनि स्वास्थ्य संस्थाहरु सम्म पुग्न गाह्रो मान्ने गरेको तथ्यलाई मध्यनजर गर्दै वडा वडामा यस किसिमको शिविर सञ्चालन गरिएको उपप्रमुख भट्टराईको भनाई छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *