काठमाडौँ, २७ चैत–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने बताउनु भएको छ।
मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले कुनैपनि प्रकरणमा प्रतिपक्षले छानबिन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको भन्दै यस सहकारी प्रकरणमा पनि छानबिन समिति बन्नुपर्ने बताउनु भयो। उहाँले गृहमन्त्री रवि लामिछानेले जबरजस्ती पदमा बस्न खोज्नुले बदमासी छ भनेर शङ्का गर्ने ठाउँ रहेको बताउनु भयो।
उहाँले संसदमा प्रतिपक्षले उठाएका कुराहरू सुनिनुपर्नेमा जोड दिनुभयो। उपाध्यक्ष पाण्डले सत्तापक्षले जबरजस्त रूपमा संसद् चलाउनु नहुने बताउनु भयो। उहाँले भन्नुभयो,‘प्रमुख प्रतिपक्षले हाम्रो कुरा सुनियोस्। यो कुरा निर्णय गरियोस् भनेर आवाज उठाइसकेपछि सत्ता पक्षले सुन्नैपर्छ। सत्ता पक्षले जबरजस्ती गरेर हाउस चलाउँछु भनेर त्यो काम लाग्दैन।’
उहाँले सभामुख देवराज घिमिरेले संसदमा दुई पक्षलाई लडाउन खाजेको समेत आरोप लगाउनु भयो। उहाँले भन्नुभयो, ‘प्रतिपक्ष उठेको बेलामा सत्तापक्षलाई समय दिनै हुँदैन। किनभने त्यो लडाउने उपाय हो। सभामुखले दुईथरीलाई लडाउनु हुँदैन। किनभने सत्तापक्षलाई समय दिने भनेको चाहिँ प्रतिपक्षको विरुद्धमा बोल भनेको हो। कहिल्यै गर्नु हुँदैन त्यो। उहाँको कमजोरी हो।’ सांसद पाण्डेले सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतङ्क सिर्जना भएको पनि बताउनु भयो।

