ताप्लेजुङ, २९ चैत–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन्। आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनाबद्ध रुपमा अघि बढ्न पार्टी कार्यकर्तालाई उनले सुझाव दिए।

आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उनले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी सङ्गठनमा लाग्नुपर्ने बताएका हुन्।

आफू र आफ्नो पार्टीलाई गन्तव्यमा पुर्‍याउन हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने उल्लेख गर्दै सोहीअनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने उनले बताए।

करिब ३ करोड २५ लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएको भवनको उद्घाटनअघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला पुगेका थिए। हेलिकप्टरमा त्यहाँ पुगेका ओलीले सीमावर्ती क्षेत्रको हवाई अवलोकनसमेत गरे।

उनले विराटनगरको रानी भन्सारबाट धनकुटा मूलघाट हुँदै ओलाङचुङ्गोला–टिपताला जोड्ने सडकको ट्र्याक खुलेसँगै बुधवार साँझ ओलाङचुङगोलामा पहिलो पटक सदरमुकामतर्फबाट पुगेका सवारीसाधनका चालकलाई सम्मान पनि गरेका थिए।

कार्यक्रममा अध्यक्ष ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती र पार्टी सचिव योगेशकुमार भट्टराईसमेत ताप्लेजुङ आएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *