काठमाडौं, २९ चैत–नयाँ शैक्षिक सत्रका लागि सरकारले आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तरक्रिया गर्ने कार्यक्रम छ। वैशाख २ देखि २१ गतेसम्म रेडियोबाट अभियानबारे सन्देश प्रसारण गर्ने केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले जानकारी दिए।

सामुदायिक विद्यालयकेन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरूप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ।

वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम र वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ।

अभियानकै क्रममा वैशाख १० गते सम्म भर्ना भएका विद्यार्थीलाई पोशाक र छात्रवृत्ति प्रदान गरिनेछ। वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाउने केन्द्रले जनाएको छ। निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया शुरु गरिसकेका छन्।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नारा लिएको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक (धारा ३१) कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कुल भर्नादर ९४.९ प्रतिशत छ। विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बिचमै पढाइ छाड्ने प्रवृत्ति अन्त्य भएको छैन।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *