दमक, ३१ बैशाख–किराँत राई समुदायको पृष्ठभूमिमा निर्मित चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । सोमबार, झापाको दमकस्थित एक क्याफेमा पत्रकार सम्मेलन गरी चलचित ‘गाउँ आएको बाटो’ को निर्माण टिमले जानकारी गराएको हो ।

गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सोचाई र सम्बन्धमा आउने उत्तारचढावलाई ‘गाउँ आएको बाटो’ मा देखाइएको छ । चलचित्रमा अवसर र आधुनिकताले कसरी परिवारका सदस्यबीचको सम्बन्धलाई असर पार्छ भन्ने चित्रण गरिएको छ ।

सो चलचित्रका निर्देशक नविन सुब्बाका अनुसार ‘गाउँ आएको बाटो’ जेठ २५ देखि देशभर प्रदर्शनमा आउँदैछ । निर्देशक सुब्बाले यसअघि खांग्री, नुमाफुङ र गुडबाई काठमाडौं जस्ता चलचित्रहरु निर्देशन गरिसकेका छन् ।

सामुदायिक लगानीको अवधारणामा ‘गाउँ आएको बाटो’ निर्माण भएको छ । चलचित्र निर्माणमा दुई करोड पचास लाख खर्च भएको छ । चलचित्रलाई भोजपुर र संखुवासभाको दुर्गम गाउँसहित धरानमा समेत छायांकन गरिएको निर्देशक सुब्बाले बताए ।

निर्देशक सुब्बाका अनुसार चलचित्रमा उत्पीडित जाती वा समुदायको अधिकारसहितको आन्दोलनलाई समेत बलुन्द गर्नमा चलचित्रमा चित्रण गरिएको छ ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, राज थापा लगायतको अभिनय छ । निर्मातामा नवीन सुब्बा र आमोद राई छन् भने महेश राई र निर्देशक सुब्बाले पटकथा लेखेका हुन् ।

दमकमा आयोजित पत्रकार सम्मेलनमा रङकर्मी तथा निर्देशक बिक्रम वनेम फागो, किराँत याक्थुम चुम्लुङ झापा अध्यक्ष सेसेहाङ फियाक, दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, कलाकार राज थापा लगायतको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *