झिलझिले, ५ जेठ–शिवसताक्षी नगरपालिकाको झिलझिलेमा जारी मेयर कपः २०८१ आज (शनिबार) औपचारिक रुपमा सम्पन्न भएको छ । शिबसताक्षी–११ झिलझिलेस्थित गणेशमान अध्ययन प्राविधिक प्रतिष्ठानको खेल मैदानमा सम्पन्न फुटबलतर्फको उपाधि वडा नं ११ ले हात पारेको छ ।
खेलको निर्धारित समयमा दुवै टिमबाट गोल रहित बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । वडा नं ८ लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पाखा लगाउदै वडा नं ११ ले यस वर्षको मेयर कपको उपाधि कब्जा गरेको हो ।
उपाधि हात पारेसँगै वडा नं ११ ले नगद ७० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता वडा नं ८ ले ४० हजार नगदसहित ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिए ।
खेलको म्यान अफदी म्याच बिजेता टिमका गोल किपर कुमार श्रेष्ठ घोषित भएका छन । त्यस्तै, खेल अवधी भरको उत्कृष्ट गोल किपर वडा नं ८ का विशाल घतानी, उत्कृष्ट डिफेन्डर वडा नं ८ का दावा तामाङ्ग, उत्कृष्ट मिटफिल्डर वडा नं ११ निकेश श्रेष्ठ, उत्कृष्ट फरवार्ड वडा नं ११ आकाश पौडेल, सर्वोत्कृष्ट खेलाडी वडा नं ८ का विशाल थिङ घोषित भएका छन् ।
हाइस्कोर वडा नं। ११ का आकाश पौडेल र निकेश श्रेष्ठ घोषिद भए ।
त्यस्तैगरी, मेयर कप अन्तर्गत भलिबलतर्फको उपाधि हात पारेको शिवसताक्षी ७ ले ५० हजार र उपविजेता बनेको शिवसताक्षी ११ ले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
क्रिकेट विधाको उपाधि वडा नं ९ ले हात पारेको छ । उपाधि हातपारेसँगै नगद ५० हजार र उपविजेता बनेको वडा नं ११ ले नगद ३० हजार प्राप्त गरेको छ ।
त्यसैगरी, व्याडमिन्टन खेलतर्फको वडा नं ९ ले उपाधि उचालेको छ । उपाधि हात पारेसँगै ९ ले १० हजार र उपविजेता बनेको शिवतसाक्षी ११ ले ६ हजार नगदसहित पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तैगरी कराँते विधातर्फको विजेता वडा नं १० भएको छ भने वडा न ८ उपविजेता बनेको छ । दुवै टिमले नगद तथा प्रमाण पत्र प्राप्त गरेका छन् । सबै विधाका विजेता उपविजेता टिमका खेलाडीहरुलाई नगर प्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, निमित प्रमुख प्रशासकीय अधिकृत प्रकाश चौधरी लगायतले नगद तथा प्रमाण पत्र प्रदान गरेका छन् ।
बैशाख ३० गतेबाट मेयर कप सञ्चालन भएको थियो भने, नगरका ११ वटै वडाहरुको टिमले सहभागीता जनाएका थिए ।
