दमक, ७ जेठ–झापाको दमक नगरभित्रका सडक पोलका अस्तव्यस्त तार हटाउने कार्य सुरु भएको छ । नेपाल विद्युत प्राधिरकणले पोलमा अस्तव्यस्त रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजनको तार हटाउन थालेको हो ।

नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थित गर्न यो काम थालेको छ ।

प्राधिरकणले ४०० भोल्ट लाइनको नांगो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेमीको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच २.४ मिटरको दूरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ । त्यसैगरी, ४०० भोल्टको इन्सुलेटेड तार र अन्य तारबीच ३० सेमीको दूरी र यस्तो पोलमा पैदलमार्गसँग तारको दूरी ५.५ मिटर कायम गर्ने प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरण दमकका प्रमुख परितोषकुमार चौधरीले तार हटाउने कार्यसँगै सडकको मापदण्डमा साना २९० पोल समेत हटाइँने बताए । अहिले ठूला पोल गाड्ने कार्य भएकाले सोही पोलमा अन्य कम्पनीका तारहरु पनि सार्न लगाइएको जनाए ।

विद्युत प्राधिकरण दमकका प्रमुख चौधरीले आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरतासमेत कायम राख्न दूरसञ्चार, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई आफ्नो संरचना निर्माण÷व्यवस्थापन गर्न समयसीमा सहित सार्वजनिक रुपमा आग्रह गरिएको उल्लेख गरे । जस अनुसार अहिले सडकको मापदण्ड बाहिरका पोल सार्ने र नयाँ पोल गाड्ने कार्य भइरहेको छ । नयाँ पोलमा केवल, इनटरनेट टीभी लगायतका तारहरु सार्न विद्युत प्राथिकरणले नगरपालिका मार्फत व्यवसायीलाई अनुरोध गरेको छ उनले बताए ।

‘तोकिएको समयमा व्यवस्थापन गर्ने÷नगराउने सेवा प्रदायकहरूको केबल लगायतका उपकरण नेपाल विद्युत प्राधिकरण ऐन ०४१ बमोजिम प्राधिकरण आफैँले हटाउने र यसबाट हुनसक्ने नोक्सानीका लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनुपर्ने भनि यसअघि नै पटक पटक सूचना जारी गरिसकिएकोले अहिले सोही अनुसार काम भइरहेको छ ।’– उनले भने ।

११ केभी र ३३ केभी लाइनमा विद्युतको तार र अन्य तारबीचको दूरी २ मिटर, अन्य ४ सय भोल्टका उपकरण र तारबीचको दूरी ७५ सेमी हुनुपर्ने प्राधिकरणले नियमावलीमा उल्लेख छ ।

प्राधिकरणले राउटर, रिपिटर, एक्ट्रयाक्टर, अप्टिकल फाइबर वितरण बक्स, जोइन्ट क्लोजरजस्ता उपकरण पोलको एउटा मात्रै साइडमा क्रम मिलाएर, नहल्लिने, नझर्ने गरी क्लिप ब्याण्डको प्रयोग गरेर राख्नसमेत निर्देशन दिएको छ ।

दमक नगरपालिकाको पहलमा विद्युत् प्राधिकरण दमकले नगरपालिका बजारभित्रका सडकमा नगर सौन्दर्यकरण गरी व्यवस्थित विद्युत आपूर्ति व्यवस्था गर्न सडकको दुवै किनारमा विद्युत पोलसहितको तार जडान गर्ने काम भइरहेको दमक नगरप्रमुख राम कुमार थापाले बताए ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणका कारण सहरलाई कुरुप बनाएको नगर प्रमुख थापाको भनाइ छ । ‘आगलागी लगायतका विद्युतीय दुर्घटना बढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएका कारण अव्यस्थित तार र पोल हटान थालिएको हो ।’ नगर प्रमुख थापाले भने-‘अहिले दमक नगरका चोक बजारका तारहरु हटाउने कार्य सुरु भएको छ, अब नगरभरिनै यो अभियान चलाइन्छ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *