विश्वमणि सुवेदी

काठमाडौँ, ८ जेठ—कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकोप्रति समाजवादी प्रेस संगठनले आपत्ति जनाएको छ ।

संगठनका अध्यक्ष विश्वमणि सुवेदीले उपप्रधान तथा गृहमन्त्री रवि लामछानेका सहकारी ठगी, दोहोरो नागरिकता र राहदानीलगायतका विषयमा निरन्तर समाचार प्रवाह गरेकाले कान्तिपुरमाथि राज्यले प्रतिशोध साँधेको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुरका अध्यक्ष सिरोहियालाई मंगलबार प्रहरीले कान्तिपुर दैनिकको कार्यालयबाट पक्राउ गरेको हो । उक्त घटनाको विरोधमा समाजवादी प्रेस संगठनले निन्दा गरेको छ ।

‘गृहमन्त्री रवि लामिछानेका सहकारी ठगी, दोहोरो राहदानीलगायतका विषयमा निरन्तर समाचार प्रवाह गरिरहेको र उनीउपर कानुनी सजायका निम्ति खबरदारी गरिरहेको कान्तिपुरमाथि राज्यले प्रतिशोध साँध्दै उक्त सञ्चारगृहका प्रमुख व्यक्तिलाई धरपकड गरिएको पाइएको छ ।

स्वतन्त्र सञ्चारगृहभित्र प्रहरीको परेड देखाएर सिंगो सञ्चार क्षेत्रलाई आतंकित पार्ने सरकारको प्रयत्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रतिकूल छ,’ अध्यक्ष सुवेदीको विज्ञप्तिमा भनिएको छ, ‘यसले सञ्चारक्षेत्रमाथि विगतमा पञ्चायत तथा शाही सत्ताले समेत हिम्मत गर्न नसकेको बर्बरतापूर्ण व्यवहार प्रदर्शन गरेको हाम्रो ठहर छ ।’

समाचारका विषयमा कुनै आपत्ति या प्रतिक्रिया भए त्यसका निम्ति विद्यमान कानुन तथा राज्यका निकायमार्फत आफ्ना कुरा राख्न सकिने बाटो स्पष्ट रहेको पनि अध्यक्ष सुवेदीले स्मरण गराएका छन् ।

‘गृहमन्त्रीका अनगिन्ति अपराधजन्य गतिविधि दबाउनका निम्ति यस्तो हर्कत गरिएकोमा कुनै शंका छैन । हाम्रो संगठन सिरोहियाको तत्काल रिहाई तथा प्रेस क्षेत्रमाथि सिर्जना गरिएको भयपूर्ण वातावरणको अन्त्यका निम्ति सरकारसमक्ष माग गर्दछ,’ समाजवादी प्रेस संगठनले भनेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *