राजेन्द्र लिङ्देन

काठमाडौं, ९ जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेको छ।

धुम्बाराहीमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि छानबिनको माग गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

‘राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ,’ राप्रपाको निर्णयमा उल्लेख छ, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट कैलाश सिरोहियामाथि छानबिन सुरू भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ।’

राप्रपाले कानून सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्ने पनि बताएको छ।

साथै बैठकमा राप्रपाको जेठ ११, १२ र १३ गते काठमाण्डौं हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने प्रतिवेदनहरुमाथि पनि छलफल भएको छ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

यस्तै महामन्त्री धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरेका थिए।

प्रतिवेदनहरुलाई सामान्य परिमार्जनसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *