काठमाडौं, ३ मंसिर–अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नियामक निकाय र सार्वजनिक संस्थानका प्रमुखहरूलाई सेवा प्रवाहमा प्रभावकारीता ल्याउने र सार्वजनिक सेवा प्रवाहमा टाइम कार्ड लागु गर्न सुझाव दिएका छन् । आवश्यकता र वित्तीय तथा प्राविधिक सामथ्र्य समेतलाई विचार गरी सार्वजनिक सेवा प्रवाहमा टाइम कार्ड लागु गर्न उपयुक्त हुने उनको भनाई छ ।
आइतबार सुशासन, सेवा प्रवाह र विकास निर्माण सम्बन्धी समस्याका विषयमा आयोगमा नियामक निकाय र सार्वजनिक संस्थानका प्रमुखहरूसँग एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले कानुनको अधिनमा रही सार्वजनिक संस्थानले कार्य सम्पादन गर्नुपर्ने, नियामक निकायले सार्वजनिक र निजी क्षेत्रको प्रभावकारी नियमन गर्नुपर्ने, सार्वजनिक खरिद तथा निर्माण गर्दा कार्य औचित्य, आवश्यकता हेर्नु पर्ने बताए ।
प्रमुख आयुक्त राईले वकासको काममा आइपरेका समस्या समाधान गर्न समन्वयको लागि आयोग तत्पर रहेकोले नियामक निकाय र सार्वजनिक संस्थानहरुले समेत आ–आफ्नो जिम्मेवारी मनन गरेर काम गर्नुपर्ने बताए ।
प्रमुख आयुक्त राईले अख्तियारमा उजुरी परेर जानकारी माग भएको कारण देखाई काम रोक्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै यस्ता प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए ।
असल नियतसाथ कानुनले दिएको अधिकार प्रयोग गरेर जिम्मेवारीपूर्वक काम गर्दा आयोगसँग डराउनुपर्ने अवस्था नभएको प्रमुख आयुक्त राईको भनाई छ ।
प्रमुख आयुक्त राईले असल नियतसाथ कानुनले दिएको अधिकार प्रयोग गरेर जिम्मेवारीपूर्वक काम गर्दा आयोगसँग डराउनुपर्ने अवस्था नभएको र विकासको काममा आइपरेका समस्या समाधान गर्न समन्वयको लागि आयोग तत्पर बताए । नियामक निकाय र सार्वजनिक संस्थानहरुले समेत आ–आफ्नो जिम्मेवारी मनन गरेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट सार्वजनिक संस्थानको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरुबारे संक्षिप्त प्रस्तुति भएको थियो ।
आयोगबाट नियामक निकाय र सार्वजनिक संस्थानहरुको समस्या र सुझाव कार्यान्वयनको अवस्थाबारे प्रस्तुति भएको थियो। अन्तरक्रिया तथा छलफलको सहजीकरण आयोगका सचिव घनश्याम उपाध्यायले गरे ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कार्यक्रममा नियामक निकाय र सार्वजनिक संस्थानका प्रमुखहले कार्यकारी आ–आफ्नो निकाय र कार्यक्षेत्रमा आइपरेका समस्या, आयोगबाट पठाइएका सुझाव कार्यान्वयनको अवस्था तथा आयोगसँगको अपेक्षा गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रर्वद्धनमा आयोगले गर्दै आएको कार्य को प्रसंशा गर्दै आगामी दिनमा समेत आयोगले अझ प्रभावकारी रुपले कार्य गर्दै जाने अपेक्षा रहेका बताए ।

