दमक, १ पुष । झापाको दमक र शिवसताक्षीमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
गएराति दमक नगरपालिका–१० को सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैं गरेको प्रदेश न १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ रतुवामाई–८ बस्ने २७ वर्षीय बिराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह-५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी राई भनिने ओमकुमारी राई घाइते भएका थिए।
उपचारको लागि तीनै जनालाई दमक अस्पताल दमक पठाएकोमा घाइते दुवै महिलाको उपचारको क्रममा राति नै मृत्यु भएको झापा प्रहरीले जनाएकोछ। मोटरसाइकल चालक थापालाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ।
त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार साँझ अन्दाजी ७ बजेको समयमा शिवसताक्षी–१० किरात चौकस्थित पूर्वपश्चिम राजमार्गमा को २ त ४१४५ नम्बरको ट्रयाक्टर रोकिराखेको अवस्थामा सोही पूर्व दिशातर्फ आउँदै गरेको मे ९ प ६२४ नम्बरको मोटरसाइकल ट्रयाक्टरको पछाडीको भागमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर–५ बस्ने ४२ वर्षीय सन्तोषकुमार लिम्बू र सोही मोटरसाइकलमा पछाडी सवार दमक नगरपालिका वडा नम्बर–५ बस्ने ३५ वर्षीया अनिता राई घाइते भएका थिए।
घाइते दुबैलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ७ः२० बजे मोटरसाइकल चालक लिम्बूको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए।
