दमक, १२ पुस–दमकस्थित हिमालय महालक्ष्मी चिया बगानको व्यवस्थापन फेरिएसँगै बगानमा कार्यरत मजदुरहरुलाई जीवन यापनमा सहज भएको छ । हिमालय गुडरिकहुँदै हाल सोल्टी ग्रुपको व्यवस्थापनमा सञ्चालित महालक्ष्मी चिया बगानमा ठुलो संख्यामा चिया मजदुरहरु कार्यरत छन् ।
करिब २८० जना चिया मजदुर कार्यरत रहेको यस बगानमा सोल्टी ग्रुपबाट श्यामल सुब्बा व्यवस्थापकका रुपमा नियुक्त भएर आएपछि चिया मजदुर र कर्मचारीहरुको समस्यालाई नजिकबाट हेर्ने गरेको र पहिल्यैदेखि भोग्दै आएको समयमा ज्याला नपाउने समस्याको अन्त भएको मजदुरहरुको भनाई छ ।
बगानका मजदुरहरु यतिबेला भनिरहेका छन – बिग्रिएको बगान अब सुध्रियो, पारिश्रमिक पाउनैका लागि आन्दोलन गर्नुपर्ने बाध्यताको अन्त्य भयो ।’
चियबगानमा कार्यरत मजदुर दिलकुमारी भुसालले भनिन्–’पहिला पहिला दिनहुँ काम गरेर पनि तलब पाउन आन्दोलन गर्नुपर्ने हुन्थ्यो अहिले त्यस्तो अवस्था छैन ।
समयमा सबैले तलब पाइरहेका छौं । गाह्रो–साह्रोमा कति दिनसम्म भोकै बस्नुपर्ने बाध्यता पनि थियो तर अहिले त्यो अवस्था छैन इमान्दारसाथ काम गरिरहेका वास्तविक मजदुरहरुले कुनै अप्ठ्यारो पर्दा पेश्की तलब पनि लिन पाइरहेका छौं–’बगानमा कार्यरत अर्की मजदुर तुलसा सुनुवारले भनिन् ।’
बगानमा कार्यरत मजदुरहरुको घर मर्मत सम्भार गर्नुपरेको अवस्था र कुनै प्राकृतिक विपत्ती आइपर्दा , आकस्मिक घट्ना, दुर्घटना हुँदा उपचारका लागि पनि बगान व्यवस्थापनले सहजीकरण गरि सहज बनाइदिने गरेको मजदुर नेता गोपाल खड्काले बताए । –
बगानका व्यवस्थापक श्यामल सुब्बाका अनुसार दमक ४ र ९ मा रहेका करिब डेढ दर्जन मजदुरका घरहरुमा पछिल्लो समय आवश्यक मर्मत सम्भारको काम गरिएको छ ।
बगानमा कार्यरत अर्की महिला कर्मचारी अम्बिका थापाले सो बगानमा पहिला पहिला मजदुरहरुले झेल्दै आएका धेरै समस्याहरुको समाधान भएको र यस किसिमबाट बगान अघि बढेको खण्डमा बगान र बगानमा आश्रित मजदुरहरु दुवै पक्षलाई फाइदा पुग्ने बताइन् ।
पूर्व पश्चीम राजमार्गको उत्तर र दक्षिण दुवैतर्फ गरेर सो ठाउँको करिब ६ सय बिगाहा क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । बगान क्षेत्र भित्रनै चिया प्रशोधनको कारखाना समेत सञ्चालनमा रहेको छ । यहाँको चियाको गुणस्तर समेत राम्रो भएकाले अन्तराष्ट्रिय बजार निर्यात हुने गरेको बगान व्यवस्थापनले जनाएको छ ।
बगानको व्यवस्थापन पक्षले कुनै पनि मजदुर तथा कर्मचारीहरुलाई हटाउने नीति नरहेको स्पष्ट पार्दै सो बिषयमा कतिपय अनगर्नल प्रचारहरु गरेर मजदुरका नाममा फाइदा उठाउने गिरोहले विभिन्न लान्छनाहरु लगाउने र मजदुरहरुलाई न्याय दिने बहानामा समस्या उत्पन्न गराउन खोज्ने गरेको आरोप छ ।

