दमक, १८ पुस–दमक उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ झापा शाखाको मंसिर २८ गते सम्पन्न भएको निर्वाचनमा जिल्लाको माइपश्चिम क्षेत्रबाट निर्वाचित पत्रकारहरुलाई सम्मान प्रदान गरेको छ ।

दमक नगरपालिका वडा नं ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकूल श्रेष्ठको विशेष आतिथ्यतामा बिहिबार संघले आफ्नै सभाकक्षमा संक्षिप्त कार्यक्रम गरी महासंघमा निर्वाचित पत्रकारहरुलाई सम्मान गरेको हो ।

संघका अध्यक्ष गोपाल गुरागाइँको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष एकराज गिरीसहित केन्द्रीय परिषद सदस्यमा निर्वाचित बिष्णु सुब्बा, कोशी प्रदेश परिषद सदस्यमा निर्वाचित बिष्णु पौडेल, वेणु अधिकारी, उमानाथ भण्डारी, आत्माराम राजवंशी तथा महासंघ झापा शाखाको कार्यसमिति सदस्यमा निर्वाचित सुदिप अधिकारी र मनकुमार गदाललाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि पौडेल, विशेष अतिथि श्रेष्ठ, जुत्ता चप्पल व्यवसायी संघका रिडकुमार आचार्य लगायतका वक्ताहरुले आआफनो क्षेत्रबाट समाज परिवर्तनका लागि सबैले सकारात्मक र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । वक्ताहरुले पत्रकारहरुले जिम्मेवारपूर्ण पत्रकारिताको माध्यमबाट समाजलाई विशेष योगदान दिन सकेमात्र समाज रुपान्तरणमा सहयोग पुग्ने औल्याए ।सो अवसरमा सम्मानित पत्रकारहरुको तर्फबाट महासंघका नवनिर्वाचित केन्द्रीय परिषद सदस्य सुब्बाले धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले समापन मन्तव्य राखेका थिए भने द्धितीयउपाध्यक्ष ज्ञाननाथ पौडेलले सञ्चालन गरेका थिए ।

सो अवसरमा संघका तृतीय उपाध्यक्ष रुवल अधिकारी , लेखा संयोजक नेत्र चम्लागाइँ, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका निवर्तमान कोषाध्यक्ष बिमल लामिछाने लगायत पदाधिकारी एवं बस्तुसंघका व्यवसायीहरु ,सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *