काठमाडौँ, १९ पुस–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले एमालेबाट विद्रोह गरेकोमा गर्वबोध भइरहेको बताउनुभयो।
समाजवादी प्रेस संगठन, नेपालले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख ज्वालाले उक्त कुरा बताउनु भएको हो। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा सम्पन्न स्वागत कार्यक्रममा उपाध्यक्ष ज्वालासहित उपप्रमुख दामोदर अर्याल, केन्द्रीय सदस्य चमिना भट्टराईका साथै संगठनका पदाधिकारी, केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो।
संगठनका अध्यक्ष विष्णुमणि सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख ज्वालाले भन्नुभयो, ‘हामीले केपी ओली सच्चिदैनन्। उनी थप व्यक्तिवादी बन्दैजाने देखेर नै हामीले विद्रोह गरेका हौं। नेकपा (एकीकृत समाजवादी) को जन्म नै हाम्रो विद्रोहको परिणाम थियो। हामीले विद्रोहको झिल्को बालेकै हो।’
प्रमुख ज्वालाले अगाडि भन्नुभयो, ‘आजसम्म पनि केपी ओलीको व्यक्तिवाद, स्वेच्छाचारिता कम भएको छैन। बरु बढेको छ। पार्टीभित्र नेतृत्वको आलोचना गर्न मिल्दैन। नेतृत्वको जयजयकार गर्नुपर्छ। ओलीलाई बा भन्नुपर्छ। हामीले भनेनौं। आज पनि केही साथीहरुलाई आलोचना गरेकै भरमा कारबाही गर्ने, पार्टीबाट निष्कासित गरिएको छ। त्यसैले हामीले जुनबेला एमालेबाट विद्रोह गरेका थियो। त्यो पटकपटक पुष्टि भइरहेको छ।’

