धरमपुर, २ माघ–झापाको शिवसताक्षी–१ धरमपुर चौकस्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।

आज (बुधबार) बिहान ६ः३० बजे काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायात (यात्रुवाहक) बस धरमपुर चौकमा दुर्घटना भएको हो । सो दुर्घटनामा बसमा सवार ११ जना यात्रुहरु घाइते छन् ।

नागरिक यातायातको यात्रुवाहक बस अनियन्त्रित भई बस सडकबाट तल खसेर पल्टिएको थियो ।

दुर्घटनामा घाइते हुनेमा विराटनगर–३ का गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला, विराटनगर–४ का शर्मिला कोइराला, झिलझिलेका टंक सिवाकोटी, विराटनगरकै आन्सा फ्यादेन, सुमना लिम्बु, बिर्तामोडका पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र झापाको कमल गाउँपालिकाका शान्तिराम खतिवडा रहेका छन् ।

घाइते सबैको अवस्था सामान्य रेहेको र विर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक मेचीनगर–१० धुलाबारी बस्ने ५४ वर्षीय टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *