क्याम्पा बजार (कमल), २२ माघ–झापाको कमल गाउँपालिका वडा नम्बर २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम शुभारम्भ गरिएको छ।
कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा आज (मंगलबार) आयोजित खोप कार्यक्रमलाई गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत केसबकुमार ढकाल, कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बराल, कमल–२ वडा सदस्य महेन्द्र खत्री, कमल नगर अस्पताल व्यवस्थापन समितिका बसन्त निधि, कमल नगर स्वास्थ्य शाखा प्रमुख विनु थापा, विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहाल, गाउँपालिका अध्यक्षका स्वकीय सचिव रोसन दाहाल, कमल नगर अस्पतालका भ्याक्सिनेटर अञ्जना सापकोटा, स्वयंसेवक उषा गौतम दाहाल लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
खोप कार्यक्रम शुभारम्भ अघि आयोजित कार्यक्रममा कमल नगर अस्पतालका प्रमुख दीपक दाहालले पाठेघरको मुखको क्यान्सरविरुद्ध खोपको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहजिकरण गर्नुहुँदै दाहालले महिलाहरुमा हुने पाठेघरको मुखको क्यानसरविरुद्ध एचपिभी खोपले प्रभावकारी रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
