माङसेबुङ (इलाम), १९ चैत–माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले कर्जा लिएर तिर्नु पर्दैन भन्ने गलत हल्लाको पछि लाग्न नहुने बताएका छन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार इलामको माङसेबुङ ६ चिसोपानी पञ्चमीमा आयोजना गरेको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले खाएको ऋण मिनाहा हुन्छ भन्ने गलत बहकाउमा लाग्न नहुने सुझाव दिएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले आह्वान गरेको वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा हुने गलत हल्ला रहेकोतर्फ लक्षित गर्दै ‘नकारात्मक हल्लाहरुले अप्ठ्यारो त पारेकै छ । तर, माङसेबुङ क्षेत्रभित्र यस्ता गलत गतिविधि हुन नदिनेमा हामी सचेत छौँ’ उनले भने ।

माङ्सेबुङ ६ का वडा अध्यक्ष प्रदीप साम्पाङ राईले सामाजिक क्षेत्रमासमेत जीवन विकास लघुवित्तले सकारात्मक योगदान पुर्याएको भन्दै धन्यवाद दिएका थिए ।

लघुवित्त संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका सूचना प्रमुख रमेश राई, वरिष्ठ केन्द्र प्रमुख कल्पना राईलगायतले लिएको ऋण आयमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले कर्जा लिएर सही सदुपयोग गर्दा रिन तिर्न सहज हुने भएकाले क्षमता अनुसार ऋण लिन सुझाएका थिए । मासिक बचत अनिवार्य र सक्दा दैनिक बचत गर्न सके सफल उद्यमी बन्न मद्दत मिल्ने उनीहरुको भनाइ थियो ।

त्यसो गर्न सकेमा किस्ता तिर्न र आम्दानी गर्न सकिनेमा जोड दिएका थिए ।
संस्थाका चिसोपानी पञ्चमी शाखा कार्यालय प्रमुख निमेश राईका अनुसार कार्यक्रममा इलामको माङसेबुङ र चुलाचुली, मिक्लाजुङ मोरङ र मिक्लाजुङ पाँचथर चार वटा पालिकाबाट विभिन्न केन्द्रका प्रमुखहरु सहभागी थिए ।

वचतकर्ता सदस्यहरुबाट साना साना रकम बचत गरिने र बढीमा ७ लाखसम्म ऋण प्रवाह हुने सो संस्थाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *