काठमाडौँ, २४ चैत–नेकपा (एकीकृत समाजवादी) ले शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।
पार्टीले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकहरूले उठाएका जायज मागहरूलाई यथाशीघ्र वार्ता र संवाद मार्फत हल गर्न पनि नेपाल सरकारलाई आग्रह गरेको छ।
‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा २०८१ चैत्र २० गते देखि देशभरिका शिक्षक, शिक्षिका र विद्यालयका कर्मचारीहरूले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै गरिरहेको आन्दोलनप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘शिक्षकहरूको आन्दोलनप्रति हाम्रो पार्टी ऐक्यबद्धता जनाउन चाहन्छ।’
शिक्षकहरूले उठाएका शिक्षा क्षेत्रका जायज मागहरू र नेपाल सरकारसँग भएका विभिन्न सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारसँग एकीकृत समाजवादीले माग गरेको छ।
‘यस आन्दोलनबाट शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ, पठनपाठन बन्द भएको अवस्था छ र एसइईको उत्तरपुस्तिका परीक्षण प्रभावित बन्न पुगेको छ’, समाजवादीले भनेको छ, ‘यो राज्यको निम्ति एकदमै गम्भीर विषय हो तसर्थ शिक्षा ऐन तत्काल पारित गरी शिक्षकहरूले उठाएका जायज मागहरूलाई यथाशीघ्र वार्ता र संवादमार्फत हल गर्न नेपाल सरकारलाई आग्रह गर्दछौँ।’
