काठमाडौँ, २६ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशका समस्या समाधान गरी देशलाई अगाडि बढाउन बनेकाले कसैले हल्लाउन नसक्ने दावी गरेका छन्।

मंगलवार मधेश प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्। उनले नेपाली काँग्रेस(नेकपा एमाले मिलेर बनेको वर्तमान सरकारले देशलाई अगाडि बढाउन बनेको जिकिर गरे।

उनले अस्थिरता र दाउपेचको स्थिति वर्तमान सरकारले अन्त्य गरेको बताए। प्रधानमन्त्री ओलीले सरकार ढलिहाल्छ भन्दै टिप्पणी गर्नेहरू पनि थाकेको बताए। उनले वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म अघि बढ्ने र निर्वाचनपछि पनि निर्वाचनको परिणाम हेरेर विचार गर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘समस्या समाधान गरेर देशलाई अगाडि बढाउन यो समीकरण बनाइएको हो। अस्थिरता र दाउपेचको स्थिति अन्त्य गर्न यो समीकरण बनाइएको हो। दुईवटा पार्टीले संकल्प गरेका छन्। हामी चुनावसम्म सँगै जान्छौँ। चुनावलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउँछौँ। त्यसपछिको परिस्थिति कस्तो बन्छ, विचार गरौँला। यो सरकार ढल्ने त कुरा छोडिदिनुस्, हल्लिँदा पनि हल्लिँदैन।’

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको विकासका लागि संघीय सरकारसँगै काम गर्न तयार रहेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *