दमक, २५ वैशाख–नेकपा (एकीकृत समाजवादी) झापाको १०औं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यहि वैशाख २७ र २९ गते हुने १०औं जिल्ला अधिवेशन बिर्तामोडस्थित इन्द्रेणी ब्याङ्केटमा सम्पन्न हुने भएको हो ।
शनिबार, इन्द्रेणी ब्याङ्केटमा सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी पार्टी झापाको १०औं जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
उद्घाटन समारोहमा सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालसंगै उपाध्यक्ष जगनाथ खतिवडा, उपमहासचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई, सचिव बलदेब चौधरी, प्रदेश अध्यक्ष सरिता खड्का लगायतका नेताहरुको उपस्थिति हुनेछन् ।
अधिवेशनमा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र १५ वटै पालिकहरुबाट ११ सय बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुले सहभागिता जनाउने छन् ।
त्यस्तैं, अधिवेशनमा अनेमसंघ, अनेकिसंघ, अनेरास्ववियू, नेपाल आदिवासी जनजाति समाजवादी, खेलकुद महासंघ समाजवादी, मुक्ति समाज, मजदुर, एकीकृत कर्मचारी, समाजवादी प्रेष संगठन लगायतका पार्टी जनबर्गीय संघसंगठनहरुले समेत प्रतिनिधिमुलक भाग लिने छन् ।
अधिवेशनको उद्घाटन समारोहमा झापाली बामपन्थी आन्दोलनका अग्रज तथा अगुवाहरुलाई समेत अभिनन्दन गरिने भएको छ । अधिवेशनलाई लक्षित गरेर झापाका प्रमुख बजारहरुमा १०औं अधिवेशनको लोगो वितरण गरिएको र त्यसलाई सार्वजनिक स्थलहरुमाा टास्ने कार्य भएको छ ।
त्यस्तैं, एकीकृत समाजवादीको चुनाव चिन्ह्र कलम अंकित झण्डा, अधिवेशनसंग सम्बन्धित नाराहरुसहितको ब्यानर र स्वागत गेट निर्माण कार्यलाई तीब्रता बनाइएको नेता बिपी भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार अधिवेशनलाई लक्षित गरेर प्रचारप्रसारका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर विभिन्न अभियानहरु सञ्चालन भइरहेका छन् । प्रचार प्रसारका कामलाई समाजवादी प्रेष संगठनलाई जिम्मेवारी प्रदान गरिएको नेता भट्टराईले बताए ।
त्यस्तैं, अधिवेशनको बन्दसत्रलाई लक्षित गरेर पार्टी पोलिटव्यूरो सदस्य तथा युवा नेता अशेष घिमिरेको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलको सदस्यहरुमा झापा इन्चार्ज तथा पूर्वसांसद पुष्पराज पोख्रेल, केन्द्रीय सदस्य तथा सहइन्चार्ज नीलमणी बराल, भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख तथा केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठ, केन्द्रीय सदस्य सविता भेट्वाल भण्डारी छन् ।
