दमक, ९ जेठ–मेचीनगर नगरपालिकाको धुलाबारीमा सञ्चालित पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९औं वार्षिकत्सवको अवसरमा टिकटक प्रतियोगिताको गर्ने भएको छ।
पूर्वीद्धार सहकारी संस्थाले आज (शुक्रबार) धुलाबारीमा पत्रकार सम्मेलन गरी टीकटक प्रतियोगिता कार्यक्रम सम्बन्धी जानकारी दिएको हो। संस्थाका अध्यक्ष वीपी भट्टराईका अनुसार सहकारी सहकारी संस्थाप्रति सकारात्मक सोचको विकास गर्ने उद्देश्यले टीकटक प्रतियोगिता आयोजना गरिएको हो ।
‘आजको बचत नै भविष्यको सुरक्षा हो’ भन्ने नारामा केन्द्रित तीन मिनेटको टिकटक भिडियो बनाएर प्रतियोगितामा सहभागी हुन सकिनेछ। संस्थाका व्यवस्थापक प्रह्लाद खड्काले जेठ १५ देखि २५ गतेभित्र भिडियो व्हाट्सएप वा इमेलमार्फत पठाउन सकिने जानकारी दिए।
सहकारी संस्थाका अध्यक्ष भट्टराईले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः रु ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार पाउने जानकारी दिए ।
प्रतियोगीका भिडियोहरू संस्थाको आधिकारिक टिकटक पेजमा अपलोड गरिनेछ। असार ४ गते राति १२ बजेसम्मको लाइक, शेयर र भ्यूजको ५० प्रतिशत र प्रस्तुतिको ५० प्रतिशत आधारमा निर्णायक मण्डलले विजेता छनोट गर्नेछ।
