संखुवासभा, ११ जेठ–भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको चौतर्फी राजीनामा माग बढिरहेका बेला नेपाली कांग्रेसका नेता गुुरु घिमिरे भने उनको बचाउमा देखिएका छन् ।
कांग्रेसकै शीर्ष नेता डा.शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिएर अनुुसन्धानलाई सघाउनु पर्ने बताइरहेका बेला नेता घिमिरेले भने आरोपबाट बच्न कर्मचारीले गृहमन्त्री रमेश लेखक माथि दोष थुपारेको बताएका छन् ।
उनले कांग्रेसका नेताहरु बद्नियत राखेर काम नगर्ने दाबी समेत गरे । संखुवासभाको खाँदबारीमा आइतबार आयोजित छलफल कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई जोडेर कांग्रेसको बदनाम गर्न खोजिएको बताएका छन् । पछिल्लो समय सरकारमा गएका कांग्रेसका मन्त्रीहरु अनावश्यक विवादमा मुछिएको उनले बताएका छन् ।
कम्युनिष्ट पार्टीको अधिनमा देशको ठूलो पाटी कांग्रेस बसेको उनको भनाइ थियो । उनले सुशासन, संविधान संशोधन लगायतका विषयलाई अघि बढाउन कांग्रेसले यो बाटो रोजेको बताए । अहिलेको कुनै पनि मन्त्रीले जनताले देख्ने गरी काम गर्न नसकेको उनको भनाइ छ । कोशी प्रदेशका विभिन्न जिल्ला दौडाहमा निस्केका घिमिरेले कांग्रेस परम्परागत तरिकाले चलेको उल्लेख गरे ।
