दमक, १६ जेठ–माङसेबुङ गाउँपालिकाले महिलाहरुलाई सौन्दर्यकला (व्यूटीपार्लर) सम्बन्धि एक महिने आधारभूत तालिम सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको कार्यालयले स्थानीय महिलाहरुलाई प्राविधिक तालिम मार्फत व्यवसायमा जोड्ने उदेश्यले व्यूटीपार्लर सम्बन्धि तालिम सञ्चालनमा ल्याएको हो ।
दमकको पशुपति मन्दिर रोडस्थित खुसी खुस्बु सीप बिकास तालिम केन्द्रको प्राविधिक र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा ब्युटीपार्लर सम्बन्धी तालिम शुरू भएको हो । खुशी खुस्बु सीप विकास तालिम केन्द्रकी सञ्चालिका एबम् प्रशिक्षक जमुना निरौला अधिकारीको अनुसार जेठ १४ गते बुधबारदेखि सो तालिम सुरु भएको हो ।
वडा नं ४ का वडाध्यक्ष नवीन लिम्बुको अध्यक्षतामा तथा गाउपालिका उपाध्यक्ष बिनोद नेम्वाङको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको थियो ।
माङसेबुङ–४ को सभाहलमा सुरु भएको तालिममा सो वडाका २० जना महिलाहरुले सहभागिता जनाएका छन् । तालिम एक महिनासम्म सञ्चालन हुने भएको छ । सो तालिममा ब्युटिसियन जमुना निरौला र रिता बानियाले प्रशिक्षण गर्नुहुने भएको छ ।
खुसी खुस्बु सीप बिकास तालिम केन्द्रले यसअघि, पाँचथरको तुम्बेवा गाउपलिकामा र झापाको कमल गाउँपालिकामा व्यूटीपार्लर तालिम सम्पन्न गरिसकेको छ ।
