राजेन्द्र लिङ्देन

काठमाडौं, २० जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साएको आरोप लगाएको छ ।

आज (मंगलबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कमलादी मन्दिरमा गरिएको दीप प्रज्वलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) निकट वाईसीएलबाट भएको अवरोधको प्रयासको सशक्त विरोध गर्ने निर्णय भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन गर्नु भएको उक्साहटप्रति राप्रपा खेद व्यक्त गर्दछ । यस्ता कार्य जारी रहेमा राप्रपाले आगामी दिनमा सशक्त प्रतिवाद गर्नेछ’, विज्ञप्तिमा भनिएको छ ।

राप्रपाले जारी आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन पूर्ण प्रतिबद्ध रहेको र निरन्तर आन्दोलनको अग्रभागमा रहने निर्णय गरेको छ । आफ्नो नेतृत्व र समग्र आन्दोलनलाई निष्प्रभावी एवं भ्रम पार्ने गरी समाचार सम्प्रेषित भएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘पार्टी र नेतृत्वबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा छरिने वा छरिएका सबैखाले भ्रमको सामूहिक प्रतिवाद गर्न राप्रपा सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक आह्वान गर्दछ । साथै, अनर्गल भ्रम छर्ने कार्यमा राप्रपाको कुनै पनि तहको नेता–कार्यकर्ता संलग्न भएको देखिएमा कडा अनुशासनको विषय बन्ने मात्र होइन कारबाहीको भागीदार समेत हुनुपर्ने’, कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *