काठमाडौं, २९ भदौं–नेकपा (एमाले) पुनर्गठनका सुझाव पेश गर्न गठित कार्यदलमा सहमति नभएपछि दुईवटै प्रतिवेदनलाई मिलाउने जिम्मा तीन जना नेतालाई सुम्पिएर बैठक सकिएको छ ।
काभ्रेको बल्थलीस्थित एक रिसोर्टमा तीन दिनसम्म चलेको आवाशीय बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकरले प्रस्तुत गरेको छुट्टाछुट्टै प्रतिवेदनलाई मिलाउने कोसिस भएको थियो ।
तर दुवैका प्रतिवेदनमा सहमति नभएपछि थप गृहकार्य गर्नका लागि बैठकले तीन नेताहरु उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेललाई जिम्मा दिएको हो ।
उनीहरूले अब केन्द्रीय कमिटीको आसन्न बैठकमा प्रस्तुत गर्ने गरी प्रतिवेदनका विषयहरूलाई मिलाउनका लागि कोसिस गर्ने जनाइएको छ ।
कार्यदलका सदस्य समेत रहेका एमाले सचिव राजन भट्टराईले प्रतिवेदनको मस्यौदालाई बैठकमा उठेका विषयहरु समावेस गरी अन्तिम मस्यौदा पेश गर्न जिम्मेवारी दिएको बताए । अर्को बैठक आगामी १ गतेपछि बस्ने छ ।
थापाको प्रतिवेदनमा ओलीलाई पदमा राखेर नै पार्टी अघि बढाउनुपर्ने धारणा छ भने पोखरेलको प्रतिवेदनमा पार्टीको पुनर्गठनका लागि नेतृत्वले त्याग गर्नुपर्ने लगायतका विषयहरू रहेको जनाइएको छ ।
